राष्ट्रपतिको शुभेच्छामा कसैले विमति राख्नु पर्ने कारण छैन : प्रधानमन्त्री


५ भाद्र २०८०, मंगलवार
Prachanda 1 1

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक महिनादेखि अवरुद्ध संसद् सञ्चालनका लागि सहमति नजिकै पुगिएको कुरा राष्ट्रपति रामचन्द्र पौडेलले राखेको बताएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ ले भने राष्ट्रपतिको ‘पहलकदमी’ लाई ‘सकारात्मक’ भनेर टिप्पणी गरेका छन् ।

shital niwas sarbadaliya 1

प्रधानमन्त्री प्रचण्डले संसद् बैठक सञ्चालन होस् र राजनीतिक दलहरूबीच समझदारी बनोस् भन्ने राष्ट्रपतिको शुभेच्छा सकारात्मक रहेको बताएका हुन् । ‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन । हामी निरन्तर छलफलमा छौँ’, प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘संसद् सुचारु गर्ने सहमतिको करिबकरिब नजिक पुगेका छौँ । राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु ।’

एमालेले भने राष्ट्रपतिको चासो अनुचित भएको भन्दै बैठक बहिष्कार गरेको हो । एमालेबाट जारी संसद्को अवरोध अन्त्यका लागि राजनीतिक दललाई जिम्मेवार हुन सम्झाउन सोमबार बिहान राष्ट्रपतिले डाकेको बैठकमा एमाले नेता अनुपस्थित भएका हुन् । यसअघि, राष्ट्रपति पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एक्लाएक्लै छलफल गरेका थिए । त्यति बेला ओलीले सत्तापक्ष जिम्मेवार नभएको र प्रतिपक्ष सदनमा अवरोध गर्न बाध्य भएको बताएका थिए ।

राष्ट्रपतिले सक्रियता देखाएको भन्दै एमालेले बैठक बहिष्कार गरेको हो । ‘राष्ट्रपतिले शुभकामना आदानप्रदान, चियापानमा बोलाउनु हुन्छ भने हामी जान्छौँ । तर, राजनीतिक मुद्दामा बैठक बोलाउनु संविधानको भावना विपरीत हो’, एमाले सचेतक महेश बर्तौलाले भने, ‘यस्ता बैठकमा अन्य दलहरू पनि सहभागी हुनु अनुचित छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७