अनुदानदेखि निःशुल्क शिक्षा प्यूठान नगरपालिकाको प्राथमिकतामा


९ भाद्र २०८०, शनिबार
202308261414 4f82c42d 455f 47b6 9eea 082f0c5b99de medium

प्युठान । नेपालको संविधानले स्थानीय तहलाई सेवा प्रवाहको मेरुदण्डका रुपमा परिभाषित गरेको छ । संविधानले पालिकालाई ‘स्थानीय सरकार’ का रुपमा व्याख्या गर्दै अधिकार सम्पन्न बनाएको छ । संविधानको अनुसूची ८ ले कृषि, आधारभूत स्वास्थ्य तथा शिक्षा, स्थानीय पूर्वाधार निर्माणलगायत अधिकार स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्ने भनी स्पष्ट पारेको छ ।

संविधानमा उल्लेख भएअनुसार स्थानीय सरकारले आफूलाई सेवा प्रवाहमा केन्द्रित गरेका छन् । कतिपय पालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायत क्षेत्रमा नमूना प्रस्तुत गरेका छन् । प्यूठान नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रलाई उच्च प्राथमिकतामा दिँदै कृषिजन्य उत्पादनमा आत्मर्निभर हुने लक्ष्य राखेको छ ।

नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा, किसानलाई प्रोत्साहनस्वरुप उत्पादनमा अनुदान, सुत्केरी तथा ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदानलगायत नमूना कार्य अगाडि सारेको छ । नगरपालिकाका प्रमुख विष्णुबहादुर योगीले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने मान्यताका साथ शैक्षिक सुधारमा केन्द्रित भएको बताए ।

‘समुदाय र अभिभावकले विश्वास गर्नसक्ने शिक्षा प्रदान गर्न थालिएको छ’, उनले भने । यही शैक्षिक सत्रदेखि अभिभावकविहीन बालबालिकालाई कक्षा १ देखि १२ सम्म आवासीय सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्न थालिएको छ । नगरपालिकाले कृषिलाई पनि उच्च प्राथमिकता दिएको उनको भनाइ छ । किसानलाई उत्पादनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । नगरपालिकाले अहिले कृषकले उत्पादन गरेका वस्तुलाई अनुदान दिन सुरु गरेको छ । पालिकाले दुग्ध उत्पादक किसानलाई प्रतिलिटर रु १० अनुदान दिन थालेको छ ।

पालिकाले तरकारीलगायत कृषिजन्य उत्पादनमा पनि अनुदान दिने तयारी गरेको छ । ‘कृषिजन्य उत्पादनमा अनुदान दिन नगरपालिकाले कार्यविधि बनाइरहेको छ, कार्यविधि निर्माणपछि किसानसँग सम्झौता गर्ने तयारी छ’, योगीले भने । उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसानमा उत्साह बढेको छ । ‘दूध र तरकारीमा आत्मनिर्भर बनाउने नीति छ’, उनले भने ।

नगरवासीलाई आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्न दक्ष जनशक्ति, आवश्यक पूर्वाधारलगायत संरचनाको व्यवस्था गरिएको छ । पालिकाले सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । ‘ज्येष्ठ नागरिक, आर्थिकरुपले विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ’, प्रमुख योगीले भने, ‘ज्येष्ठ (६० वर्षमाथि) नागरिकलाई घरमै सामान्य स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ ।’

नगरपालिकाले हरेक वडामा सडक कालोपत्र गर्ने योजनाका साथ यसै आवदेखि काम थालेको छ । बेरोजगार युवालाई कृषिसँग जोडेर रोजगारीका साथै उत्पादन वृद्धिको योजना अगाडि बढाइएको नगर प्रमुख योगीले बताइ । ‘बेरोजगारलाई कृषिमा जोड्दा उत्पादनसँगै रोजगारी पनि सिर्जना हुन्छ’, उनले भने, ‘युवालाई कृषिमा आकर्षण गर्न ‘युवासँग कृषि’ कार्यक्रम ल्याइएको छ ।’

भूमि बैंक स्थापना गर्ने, बेरोजगारलाई कृषिसित जोड्ने, उत्पादनको बजारीकरण गर्नेलगायत काम नगरपालिकाले गरिरहेको छ । कृषिजन्य उत्पादनको बजारीकरणमा देखिएको समस्या समाधान गर्न नगरपालिकाले नै उपभोग्य वस्तुलाई बजारसम्म पुर्‍याउने योजना बनाएको छ । ‘ग्रामीण भेगमा उत्पादन भएका उत्पादनलाई बजारको पहुँचमा पुर्‍याउन कार्यविधि निर्माण भइरहेको छ’, प्रमुख योगीले भने । किसानले उत्पादन गरेका दूध, तरकारीलगायत उपभोग्य वस्तु सङ्कलन गर्न सङ्कलन केन्द्र स्थापना गर्ने, किसानका उत्पादनलाई पालिकाले अनुदानसहित खरिद गरेर बजारमा पठाउने समेत तयारी गरिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७