सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक : मन्त्री गुरुङ


९ भाद्र २०८०, शनिबार
Dhanraj Gurung
फाइल फोटो

झापा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायपालिका सुधारका लागि सक्षम र योग्य न्यायाधीश नियुक्ति हुन आवश्यक रहेको बताएका छन् । डेमोक्रयाटिक लयर्स एशोसिएसन झापाले आज चन्द्रगढीमा आयोजना गरेको कानुन व्यवसायीसँगको भेटघाट कार्यक्रममा उनले अब नियुक्त हुने न्यायाधीशबाट न्यायपालिकाको सुधार हुने अपेक्षा गरिएको बताए ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री गुरुङले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने मान्यताअनुरुप न्यायालयलाई राजनीतिक हस्तक्षेपबाटमुक्त राख्ने प्रतिबद्धता व्यक्त गरे । योग्य र सक्षम न्यायाधीश नियुक्तिका पक्षमा सरकार रहेको उनको धारणा थियो । न्यायिक क्षेत्रमा विगतको जस्तो कमजोरी हुन नदिन न्यायाधीश नियुक्तिमा ढिलाइ नगरिने मन्त्री गुरुङको भनाइ थियो ।

सो अवसरमा झापा जिल्ला अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवालीले झापामा मुद्दाको चाप बढेकाले जनशक्ति थप्न आवश्यक भएको बताए । कार्यक्रममा एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्रीले न्याय क्षेत्रमा रहेका बेथिति तथा विसङ्गति हटाएर न्यायपालिकालाई स्वतन्त्र र मर्यादित बनाउन आवश्यक रहेको चर्चा गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७