सरकार ढल्दैन, समाजवादी मोर्चाले कांग्रेसमा चिसो पसेको छैन : माधव नेपाल


१४ भाद्र २०८०, बिहीबार
Madhav nepal surkhet
फाइल फोटो

सुर्खेत । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा रहेका दलहरु मिलेर समाजवादी मोर्चा बनाउँदा नेपाली कांग्रेसलाई चिसो नपसेको बताएका छन् ।

आज (बिहीबार) सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले मोर्चाका कारण कांग्रेसलाई चिसो नपसेको बताए । उनले कम्युनिस्ट पार्टी मिलेपछि देश बलियो हुने बताए । ‘मोर्चा बनेपछि कांग्रेसमा चिसो पस्यो भन्ने लागेको होला । चिसो पसेको छैन’, नेपालले भने, ‘कम्युनिस्ट मिलेका खण्डमा देशलाई बलियो बनाउन सकिन्छ । निर्वाचन प्रणाली नै त्यस्तो छ, एक्काएक्लै कसैको पार लाग्दैन ।’

उनले एकतामा शक्ति हुने, शक्तिमा ऊर्जा हुने र ऊर्जामा परिवर्तन गर्ने तागत हुने बताए । अध्यक्ष नेपालले निर्वाचनमा पैसाको चलखेल हुने भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताए । ‘निर्वाचन प्रणालीमा पैसाको चलखेल हुने गर्छ । पैसामुखी निर्वाचनलाई कसरी परिवर्तन गर्ने छलफल गर्नुपर्छ’, नेपालले भने ।

उनले अहिलेको निर्वाचन प्रणालीबाट एक्लै कसैले बहुमत ल्याउन नसक्ने बताए । निर्वाचनबाट कुनै एउटा पार्टीले बहुमत ल्याउन नसकेकाले मोर्चाको कुरा आएको उनको भनाइ छ । उनले सरकारलाई देशी विदेशी शक्तिले हल्लाउन नसक्ने दाबी गरे । कसैलाई ढलोस् भन्ने लागेको भए असिन पसिन हुन दिन उनको आग्रह छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको भ्रष्टाचारविरोधी कामको प्रशंसा समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७