प्रचण्डलाई माधव नेपालको आग्रह : भ्रष्टाचारको फाइल खोल्दा निष्पक्ष भएर अघि बढ्नुस्


१५ भाद्र २०८०, शुक्रबार
Madhav nepal samajbadi morcha pokhara 1 scaled

पोखरा । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भ्रष्टाचारका फाइल खोल्दा निष्पक्ष भएर अघि बढ्न आग्रह गरेका छन् ।

आज (शुक्रबार) समाजवादी मोर्चाले पोखरामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै नेपालले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा आफूहरूको साथ रहने पनि बताए । ‘भ्रष्टाचारका फाइल खोल्नु भएको छ । कुरा मात्र होइन उहाँले (प्रचण्डले) देश विकासका योजना पनि सुनाउनु भएको छ । भ्रष्टाचारी कोही उम्कँदैनन् भनेर प्रतिबद्धता जनाउनु भएको छ,’ अध्यक्ष नेपालले भने, ‘त्यसमा बदलाको भावनाको आधारमा होइन, निष्पक्ष अघि बढ्नुस् । हामी सबैको साथ रहन्छ ।’

उनले समाजवादी मोर्चाबारे केहीले नकारात्मक टिप्पणी गरिरहेको उल्लेख गर्दै त्यस्ता टिप्पणी गर्नेलाई सकारात्मक काम गरेर जवाफ दिनुपर्ने बताएका छन् । ‘समाजवादी मोर्चाबारे नकारात्मक टिकाटिप्पणी गर्नेलाई जवाफ दिनुपर्छ,’ उनले भने, ‘नकारात्मक कुरा गर्नेलाई सकारात्मक काम गरेर जवाफ दिनुपर्छ, आत्तिनु पर्दैन ।’

संघदेखि स्थानीय तहसम्मको जिम्मेवारीमा रहेकाहरूले राम्रो काम गरेर देखाउन सक्नुपर्नेमा नेपालको जोड थियो । भ्रष्टाचार गर्नेलाई दण्डित गर्नुपर्ने भन्दै उनले जुन पार्टीले राम्रो काम गरे पनि आफूहरूको सहयोग रहेन बताए । ‘प्रदेशका मुख्यमन्त्री, मन्त्री, संघका मन्त्रीले राम्रो काम गरुन् । भ्रष्टाचार गरे दण्डित गर्नुपर्छ । पालिकाका प्रमुख–उपप्रमुखले पनि राम्रो काम गर्नुपर्छ,’ नेपालले भने, ‘जुन पार्टीको भए पनि राम्रो काम गरेमा खुट्टा तान्ने होइन । सहयोग गर्नुपर्छ । वडाध्यक्ष, वडा सदस्यले पनि राम्रो काम गरेर देखाउनुस् ।’

मोर्चामा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विगतमा माओवादीमा रहेको प्रसंग कोट्याउँदै भविष्यमा पुन कम्युनिस्ट बन्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७