‘टीआरसी’ मा प्रधानमन्त्री प्रचण्डले मागे एमाले अध्यक्ष ओलीको सहयोग


१९ भाद्र २०८०, मंगलवार
prachanda kp oli
फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्मा विचाराधीन विभिन्न विधेयकलाई निष्कर्षमा लैजानेलगायत विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो । सो अवसरमा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घीय महासभाको सहभागिता र चीन भ्रमण, विचाराधीन विभिन्न विधेयकका सम्बन्धमा छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनमा नेकपा एमालेका अध्यक्ष ओलीको सहयोग मागेका छन् । दुई नेताबीच भएको भेटमा प्रचण्डले टीआरसी टुंग्याउन एमालेको सहयोग आवश्यक रहेको बताएका हुन् ।

प्रधानमन्त्री कार्यालय र एमाले नेताहरुका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई भनेका छन्, ‘टीआरसीमा तपाईंको सहयोग चाहियो ।’ जवाफमा अध्यक्ष ओलीले असहयोग गर्ने आफूहरुको चाहना नरहेको बताए । नेताहरुका अनुसार ओलीले प्रचण्डलाई जवाफ फर्काएका छन्, ‘हाम्रो सहयोग छ कहिले पो असहयोग थियो र !’
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन विधेयक विगतको भन्दा सकारात्मक रहेको भन्दै ओलीले ‘थप सुधारका लागि तयार हुनुपर्ने’ पनि बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७