सर्लाहीको मलंगवा तनावग्रस्त : साँझ ५ बजेदेखि निषेधाज्ञा जारी, सुरक्षाकर्मीको संख्या बढाइयो


२३ भाद्र २०८०, शनिबार
malang

सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवाको अवस्था आज (शनिबार) तनावग्रस्त बनेको छ । शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप हुँदा मलंगबाबा बजार क्षेत्र अशान्त बनेको हो । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जका क्रममा शुक्रबार साँझ भएको झडपपछि अवस्था तनावग्रस्त बनेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

आज (शनिबार) साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले जानकारी दिएका छन् । अहिलेसम्म कुनै घटना नघटेको भए पनि घट्न सक्ने सम्भावना भएकाले निषेधाज्ञा जारी गरिएको यादवले बताए ।

‘अहिलेको अवस्था सामान्य नै छ,’ उनले भने, ‘सम्भावित घटना क्रमलाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको छ । शुक्रबार मध्यरातबाट अवस्था सामान्य भए पनि शनिबार बिहानबाट अवस्था तनावग्रस्त बनेको हो । आक्रोशित युवाहरू बिहानदेखि चौक चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । स्थितिलाई नियन्त्रणमा लिनका लागि मलङ्गवा बजार क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित अप्रिय घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिएका छन् ।

गए राति झडप रोक्न प्रहरीले १६ सलेल अश्रुग्याँस र एक राउण्ड हवाइ फायर गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बेलाबेलामा अश्रुग्याँस प्रहार गरिरहेको छ । नगरपालिका चोक, मुख्य बजार क्षेत्रसहित भित्री बस्तीहरुमा समेत प्रदर्शन र ढुंगामुढा भइरहेकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परिरहेको छ । गए रातिको तनावका कारण मलंगवा बजार आज ठप्प छ ।

सम्पूर्ण पसल, व्यवसाय बन्द छन् भने मानिसको चहलपहल न्यून देखिन्छ । यातायातका साधन चलेका छैन । बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले धार्मिक, जातीय, सांस्कृतिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७