प्रधानमन्त्री प्रचण्डले गठबन्धनको जस्तो व्यवहार गरेनन् : विमलेन्द्र निधि


३१ भाद्र २०८०, आईतवार
bimalendra

धनुषा । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजिएको बताएका छन् ।
आइतबार बिहान नेपाल प्रेस युनियन धनुषा शाखाले गरेको पत्रकार सम्मेलनमा नेता निधिले गठबन्धनको सरकार भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जस्तो व्यवहार नगरेको बताए ।

पूर्व उपसभापति निधिले सरकारको काम सन्तोषजनक नभएको पनि बताए । उनले भने, ‘सरकार गठबन्धनको छ । तर, प्रधानमन्त्री प्रचण्डले गठबन्धनको जस्तो व्यवहार गर्दैनन्,’ उनले भने, ‘सरकारको काम सन्तोषजनक छैन ।’ दाहाल समाजवादी मोर्चा बनाएर सक्रिय भएको र कांग्रेस–एमाले मिलेर सरकार बनाउने अड्कलबारे सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा कांग्रेस नेता निधिले भने, ‘राजनीतिमा मोर्चाबन्दी गर्नु स्वाभाविक हो । दलीय गतिविधि गर्दैमा आत्तिनुपर्ने अवस्था होइन । कांग्रेस–एमाले मिलेर सरकार बनाउने कुरा गलत हो । कुनै सम्भावना छैन ।’

उनले नेपालमा राजनीति स्थिरता पेचिलो देखिएको पनि संकेत गरे । ‘संसद् र सरकार दुवैमा राजनीति स्थिरता हुनुपर्छ,’ निधिले भने, ‘त्यो देखिँदैन । हाम्रो मान्यता संसद् पूर्ण अवधिसम्म चल्नुपर्छ भन्ने हो । यसलाई नै राजनीति स्थिरता भनिन्छ ।’ कांग्रेस नेता निधिले असोज ८ गते राष्ट्रपति रामचन्द्र पौडेल जनकपुर भ्रमणमा आउन लागेको समेत जानकारी दिए । उनले यसअघि मौसम प्रतिकुलताले रोकिएको राष्ट्रपति पौडेलको जनकपुर भ्रमणको टुंगो लागेको जानकारी दिए ।

‘राष्ट्रपति ज्यूसित मेरो कुराकानी भएको छ । उहाँ असोज ८ गते जनकपुर आउनुहुनेछ,’ निधिले भने, ‘जनकपुरमा राष्ट्रपति ज्यूले जानकी मन्दिरको दर्शन र उपमहानगरपालिकाको तर्फबाट नागरिक अभिनन्दन गरिनेछ ।’ नागरिकता विधयेक प्रमाणीकरण गरेलगत्तै राष्ट्रपति पौडेलको जनकपुरको भ्रमण तय गरिएको थियो । तर, त्यतिबेला जनकपुरमा अत्यधिक गर्मी भएकाले उनको भ्रमण रोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७