दुई बर्षपछि एमाले पार्टी कार्यालय पुगेका खनाल भन्छन्–वामपन्थी हौं भन्ने दलहरू मिल्नु पर्छ


२ आश्विन २०८०, मंगलवार
kp jahalanath krishna onsari 80alQpNAIN

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी दलहरू मिल्नुपर्ने बताएका छन् । आज (मंगलबार) एमाले पार्टी कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’ लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले मतभेद भए पनि वामपन्थी दलहरू मिल्नु पर्ने बताएका हुन् ।

‘मतभेद हुन सक्छ । तर, वामपन्थी हौँ भन्ने दलहरू मिल्नुपर्छ,’ उनले भने, ‘वामपन्थी दल मिले पूर्व सभामुख तथा एमाले उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’ नेता खनालले राष्ट्रियताका सवालमा सबै दल मिल्नुपर्ने बताए । उनले संविधानबारे नेता र नेतृत्वले जनतालाई बुझाउन नसक्दा अहिले अतिवादका कुरा आइरहेको बताए ।

‘संविधानले बहुजातीय, बहुसांस्कृतिक बहुलवादलाई स्वीकारेको छ । तर, नेतृत्वले बुझाउन नसक्दा अहिले अतिवादका कुरा भइरहेका छन् । नेता र नेतृत्वले जनतालाई संविधान बुझाउनुपर्ने छ,’ उनले भने । एमाले विभाजित गरेर नयाँ पार्टी खोलेको दुई वर्षपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल च्यासल पुगेका हुन् ।

एमालेका दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधनका लागि खनाल च्यासल पुगेका हुन् । माधवकुमार नेपाल र झलनाथ खनाले एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा हुँदा नयाँ पार्टी खोलेका थिए ।
त्यसपछि थापाथलीमा सरेको एमाले कार्यालय अहिले ललितपुरको च्यासलमा छ । संविधान सभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष नेम्वाङको स्मृतिमा आयोजित ‘सुवास र संविधान’विषयमा प्रवचन कार्यक्रममा सहभागी हुँदा खनाल र केपी शर्मा ओली एकै ठाउँमा देखिए ।

विभाजनपछि एमाले र समाजवादीका नेताहरु प्रायः एकै ठाउँ देखिएका थिएनन् । एमालेले पहिलो पटक समाजवादीका नेतालाई आफ्नो कार्यक्रममा बोलाएको हो । समाजवादीलाई एमालेले औपचारिक रुपमा दलको मान्यता पनि दिन मानेको थिएन । एमालेले पछिल्लो समय सत्ता गठबन्धनबाट एकीकृत समाजवादी सहभागी हुने कार्यक्रममा पनि भाग लिने गरेको थिएन । तर आफ्नै जिल्लाका सहकर्मीको निधन भएपछि खनाल एमाले कार्यालय पुगेका हुन् । उनी पछिल्लो समय एमाले र समाजवादी मिल्नुपर्ने व्याख्या गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७