सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सकारात्मक, चाँडै निष्कर्ष निस्किने अपेक्षा

गृहमन्त्रीको आग्रह : पढाइ नरोक्नुस्, जायज माग सम्वोधन हुन्छन्


४ आश्विन २०८०, बिहीबार
sikshak sarkar barta fcb5mOfOdV

काठमाडौं । सरकार र विद्यालय शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूबीच वार्ता जारी छ । आन्दोलनरत शिक्षक र सरकारबीच बिहीबार बिहान ८ बजेदेखि वार्ता भएको हो ।

आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका प्रतिनिधि र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच बिहीबार बिहान गृहमन्त्रीकै कार्यकक्ष (सिंहदरबार) मा वार्ता भएको हो । गृहमन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीका अनुसार वार्ता सकारात्मक रूपले अघि बढेको छ । ‘पुनः छलफलमा बस्नेगरी बिहानको वार्ता सकिएको छ’, उनले भने ।

उनका अनुसार वार्ता बिहान ८ बजेदेखि ९ बजेसम्म चलेको थियो । ‘वार्ता प्रक्रिया अघि बढेकाले छिट्टै निष्कर्षमा पुग्छ’, उनले भने । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री श्रेष्ठ, शिक्षामन्त्री अशोक राई र शिक्षा सचिव सुरेश अधिकारी सहभागी भएका थिए भने आन्दोलनरत पक्षबाट नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए ।

वार्ताका क्रममा गृहमन्त्री श्रेष्ठले सकारात्मक माग सम्बोधन हुने विश्वास दिलाउँदै शिक्षकहरूलाई पढाइ नरोक्न आग्रह गरेका थिए । संसदमा पेस भएको शिक्षा विधेयक हुबहु पारित नगर्न माग गर्दै नेपाल शिक्षक महासंघले बुधबार विशाल ¥याली गरेको थियो । महासंघको र्‍यालीले माइतीघरदेखि बानेश्वरसम्मको यातायात ठप्प भएको थियो ।

विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का प्रावधानको विरोध गर्दै देशभरका गरी करिब एक हजार शिक्षक र्‍यालीमा सहभागी भएका थिए । सरकारले वार्ताका लागि आह्वान गरेको भए पनि उनीहरू आन्दोलित भएका हुन् । शिक्षा मन्त्रालयले वार्ताका लागि गरेको आग्रह आफूहरूलाई अमान्य रहेको महासंघको भनाइ थियो । विधेयकका प्रावधानमा महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ, जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७