उत्कृष्ट विद्यार्थीलाई एक लाख पुरस्कार


४ आश्विन २०८०, बिहीबार
money
फाइल फोटो

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०७९ मा एसइई दिएकामध्ये उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक-एक छात्रछात्रालाई रु एक लाखका दरले पुरस्कार वितरण गरिएको हो ।

थर्पुडाँडा मावि सप्तेश्वरकी आस्था राईलाई रु एक लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै थर्पुडाँडा मावि सप्तेश्वरका सुजन कार्की र पृथ्वी मावि बाक्सिलाका आलोक राईलाई जनही रु ५० हजार र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिए ।

गत वर्ष एसइईमा उत्कृष्ट अङ्क ल्याउने थर्पुडाँडा मावि सप्तेश्वरका रेडस्टार राइ र पृथ्वी मावि बाक्सिलाकी युनिशा राईलाई रु एक लाख प्रदान गरिएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७९/२०८० देखि नीति तथा कार्यक्रम बनाएर एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने छात्रछात्रालाई नगद पुरस्कार दिँदै आएको छ ।

गाउँपालिकाभित्र सञ्चालित माध्यमिक विद्यालयमध्ये नतिजाको आधारमा पृथ्वी मावि बाक्सिलाका प्रधानाध्यापक रणबहादुर राई उत्कृष्ट प्रधानाध्यापक घोषित भएका छन् । उनलाई १० हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । बुहारी शिक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाले अहिले दश बुहारीलाई निःशुल्क पढाइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७