शिक्षक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल : तोडियो निषेधित क्षेत्र

सरकार र आन्दोलित शिक्षकबीच ३ बजे फेरि वार्ता हुँदै


४ आश्विन २०८०, बिहीबार
teacher baneshwor

काठमाडौं । शिक्षा विधेयकको विरोधमा काठमाडौंको बानेश्वरमा प्रदर्शन गरिरहेका शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ । आन्दोलित शिक्षकहरुले निषेधित क्षेत्र तोड्नेदेखि सुरक्षाकर्मीको लाठी खोस्नेसम्म गरेका छन् ।

त्यस्तै शिक्षकहरूले सडक छेउमा रहेका रुखहरूको हाँगा भाँचेर सुरक्षाकर्मीमाथि प्रहार गरेका छन् । शिक्षकहरूले सुरक्षाकर्मीहरूमाथि पानीको बोतलले समेत प्रहार गरेका छन् । प्रदर्शनस्थलमा खटिएका सुरक्षाकर्मीहरूले भने हालसम्म संयमता अपनाएका छन् । सुरक्षाकर्मीले शिक्षकहरूलाई संयमित हुन आग्रह गरिरहेका छन् ।

देशभरका शिक्षक बुधबारदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् । आफ्ना विभिन्न माग पूरा गराउन उनीहरूले सरकारलाई दबाब दिएका हुन् । नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय नै बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन् ।
बिहीबार उनीहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरिरहेका छन् । त्यसक्रममा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ । सो क्षेत्रमा तनावको स्थिति रहेको छ ।

सरकार र आन्दोलित शिक्षकबीच ३ बजे फेरि वार्ता हुँदै
सरकार र आन्दोलनरत शिक्षकहरूबीच फेरि वार्ता हुने भएको छ । विद्यालय शिक्षा विधेयकलाई लिएर आन्दोलनमा उत्रिएका शिक्षक र सरकारबीच आज दिउँसो ३ बजे फेरि वार्ता हुन लागेको हो ।

वार्तामा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षा सचिव सुरेश अधिकारी र शिक्षक महासंघका प्रतिनिधिहरू सहभागी हुनेछन् । यसअघि बिहीबार बिहान सिंहदरबारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ र शिक्षकहरूबीच वार्ता भएको थियो ।

तर, गृहमन्त्री श्रेष्ठसँगको वार्ता निष्कर्षबिहीन भएको थियो । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति जनाएको छ । जसमा सरुवा–बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७