नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली राजपत्रमा सार्वजनिक : गैरआवासीयलाई पनि नागरिकता


८ आश्विन २०८०, सोमबार
griha home

काठमाडौँ । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० नेपाल राजपत्रमा प्रकाशित भएपछि गैर आवासीय नेपालीलाई पनि नागरिकताको प्रमाणपत्र वितरण गरिने भएको छ ।

नियमावली असोज ४ गते नेपाल राजपत्रमा प्रकाशित भएपछि यो व्यवस्था कार्यान्वयनमा आएको आज महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा गृह मन्त्रालयका नागरिकता तथा परिचयपत्र व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर कटुवालले जानकारी दिए ।

नागरिकतामा नेपाली नागरिकताको प्रमाणपत्र भनी लेख्ने गरिएकामा गैरआवासीय नेपालीलाई दिइने नागरिकतामा भने गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र भनी उल्लेख हुने व्यवस्था गरिएको छ । यस्तो नागरिकता लिनेलाई राजनीतिक अधिकार भने नहुने उनले स्पष्ट पारे ।

नियमावलीमा उल्लेख भएअनुसार गैरआवासीय नेपाली नागरिकता लिनेलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार भने हुनेछ तर उनीहरूका लागि शपथको पनि व्यवस्था पनि गरिएको शाखा प्रमुख कटुवालले जानकारी गराए । बाबु वा उनका परिवारले नागरिकताका लागि सनाखत गर्न नमानेमा जनप्रतिनिधिले सनाखत गरेका आधारमा पनि १६ वर्ष उमेर पुगेकालाई नागरिकता दिन सकिने व्यवस्था नियमावलीमा गरिएको छ ।

सरकारी मान्यताप्राप्त अनाथालायमा हुर्किएका बालबालिकालाई स्थानीय सरकारको सिफारिसका आधारमा नागरिकता दिन सकिने भएको छ । जन्मदा एउटा लिङ्ग भएर नागरिकता लिइसकेकाले लिङ्ग परिवर्तन गरी नागरिकतामा सच्याउन चाहेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमाणपत्रको आधारमा मन्त्रिपरिषद्ले निर्णय गरी नागरिकता दिन सकिने व्यवस्था पनि नियमावलीमा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७