केएमसीका चिकित्सकमाथि आक्रमण : गुल्मीका दुई युवक पक्राउ


१४ आश्विन २०८०, आईतवार
doctor

काठमाडौँ । काठमाडौंमा फेरि स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने युवाहरुमा दुवै जना गुल्मीका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले गुल्मी घर भएर काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी नै घर भएर सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतमलाई पक्राउ गरेको हो । एक साता आन्दोलनपछि सरकारसँग सहमति भएको केही घण्टाभित्रै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण भएको थियो ।

आइतबार सबेरै बिहान १ बजेतिर काठमाडौं मेडिकल कलेजका चिकित्सक डा. मनिष खड्कासहितका स्वास्थ्कर्मीलाई उनीहरुले कुटपिट गरेको आरोप लागेको छ । काठमाडौं मेडिकल कलेजमा पुगेका बिरामीका आफन्तद्वयले चिकित्सकसहित ४ जना स्वास्थ्यकर्मीलाई कुटपिट गरेका थिए ।

मेडिकल कलेजको नेफ्रो विभागको ओपीडी डा. खड्कासहित इन्टर्नमा रहेका स्वास्थ्यकर्मी कुटिएपछि त्यहाँका कर्मचारी आन्दोलित छन् । डायलाइसिस गर्न आएका बिरामी कुरुवाद्वयले डायलाइसिस गर्ने पालो ढिलो आएको भनेर चिकित्सकलाई हातपात गरेको पाइएको छ ।

मध्यराति चिकित्सक कुटिएपछि आइतबार बिहानैदेखि अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । उनीहरु अस्पताल परिसर र सिनामंगलस्थित सडकमा उत्रिएर धर्ना बसेका छन् । आन्दोलनका कारण अस्पताल पनि ठप्प छ । सरकारले सुरक्षित कार्यस्थलको ग्यारेन्टी गर्ने भनेपछि शनिबार ६ बुँदे सहमति गरेर चिकित्सकहरु काममा फर्किएका थिए । पोखराको मणिपाल अस्पताल र मकवानपुरको हेटौंडास्थित सञ्चो अस्पतालका चिकित्सकहरु कुटिएका थिए । त्यसयता देशभरका चिकित्सकहरुले काम छाडेर आन्दोलन चर्काएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७