चिकित्सकको सुरक्षामा सरकार सचेत छ : प्रधानमन्त्री


१८ आश्विन २०८०, बिहीबार
prachanda 3

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सरकार सचेत र गम्भीर रहेको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौँथो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले बिरामीको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणलाई आफूले गम्भीर रूपमा लिएको बताए । ‘यसबारे सरकारले स्वास्थ्यकर्मीसँग संवाद गरी आवश्यक कानुनी प्रबन्ध गर्ने सहमति र सोअनुरूपको गृहकार्य गरिसकेको छ’, उनले भने, ‘स्वास्थ्य जस्तो अतिसंवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ ।’

प्रधानमन्त्री दाहालले पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन चिकित्सकलाई आह्वान गरे । उनले नेपाल सरकार स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्न, उत्पादित जनशक्तिको रोजगारीको सुनिश्चितता, पेसागत हित र आधारभूत स्वास्थ्य सेवाको नागरिक हकप्रति प्रतिवद्ध रहेको स्पष्ट पारे ।

हरेक लोकतान्त्रिक देश र प्रणालीमा राज्य नागरिकको वास्तविक अभिभावक र संरक्षक रहेको उल्लेख गर्दै उनले राज्यका सम्पूर्ण अङ्गले नियन्त्रणमुखी नभई प्रवद्र्धनमुखी र सेवामुखी भएर काम गर्न जरूरी रहेको बताए । ‘राजनीति र जीवन व्यवहार नागरिकको स्वार्थ र हितमा समर्पित गरेर मात्र हामीले लोकतान्त्रिक राज्यको औचित्य पुष्टि गर्न सक्छौँ’, उनले भने, ‘गरिब, बिपन्न, असहाय एवं उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको अधिकार र अवसरका निम्ति राज्यको जिम्मेवारीमा रहेका सबैले कुशलतापूर्वक आफ्नो भूमिका पूरा गर्नु पर्दछ ।’

प्रधानमन्त्री दाहालले चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन एवं आम नागरिकलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरिएको बताए । ‘वीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा ठूलो अस्पतालमध्येको एक हो, राष्ट्रिय ट्रमा सेन्ट्रर र नर्सिङ क्याम्पस तथा प्रतिष्ठानको उपत्यका र बाहिरका अस्पतालमा समेत विस्तारित रूपमा उच्चस्तरका अध्यापन हुनुले स्वास्थ्य सेवामा गुणात्मक र सङ्ख्यात्मक रूपमा फड्को मार्नेछ’, उनले भने ।

प्रतिष्ठानका कुलपति दाहालले स्वास्थ्य क्षेत्रमा नेपालकै पुरानो र भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) लाई अझै विस्तार र सुविधासम्पन्न बनाउन सरकारले थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नर्सिङ सेवासँग सम्बन्धित जटिलताहरू सम्बोधन गर्न सरकारले आवश्यक पहल लिने विश्वास समेत दिलाए ।

नेपालको संविधानले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा परिभाषित गर्दै जनताको निःशुल्क स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले गरिब र बिपन्नका लागि सबैखाले अस्पतालले १० प्रतिशत निःशुःल्क शैंया तथा सङ्घीय अस्पताल र चिकित्सा विज्ञान प्रतिष्ठानमा तीन हजार पाँच सय २३ शैंया निःशुल्क गरिएको जानकारी दिए । संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको उनको भनाइ छ ।

दीक्षित विद्यार्थीले आर्जन गरेको ज्ञान, सीप र दक्षताले देशको स्वास्थ्य क्षेत्रमा गुणात्मक प्रगति हासिल गर्नका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले दीक्षित दक्ष र ऊर्जाशील प्राविधिक जनशक्तिबाट देशको दूरदराजसम्मका जनताले सहज र स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताए । कार्यक्रममा सुविधासम्पन्न, पुरानो र स्तरीय जनशक्तिको प्रत्यक्ष सुपरीवेक्षणमा रहेर सैद्घान्तिक र व्यवहारिक ज्ञान प्राप्त गरेका स्नातकोत्तर र स्नातक तहका पाँच सय ४१ जनालाई दीक्षित गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७