प्रधानमन्त्रीलाई शेखरको सुझाव : सच्चिन सकिंदैन भने सरकार छाड्नु पर्‍यो


२० आश्विन २०८०, शनिबार
prachand puspa kamal dahal n sekhar koirala
फाइल फोटो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई अराजक भन्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी नेतृत्वलाई सार्वजनिक मञ्चबाट प्रश्न गरेका छन् । उनले जातीय राजनीति गर्ने प्रधानमन्त्रीलाई कांग्रेसले किन बोक्ने भन्दै प्रश्न गरेका छन् ।

सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको टिप्पणी गरेका छन् । नेता कोइरालाले यो सरकार सच्चिन जरुरी रहेको बताउँदै सच्चिन नसक्ने भए प्रधानमन्त्री प्रचण्डले सरकार छोड्नु पर्ने उनले बताएका हुन् । उनले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नु पर्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवासँग विवाद नभएको तर विधिसम्मत हिंड्नु पर्ने बताए ।

shekhar koirala

पछिल्लो समय कोइरालाले प्रधानमन्त्री प्रचण्डप्रति निरन्तर असन्तुष्टि व्यक्त गर्दै आएका छन् । कांग्रेस गोरखाको शहीद लखन–काठमाडौं गाउँ सम्पर्क मञ्चले आज (शनिबार) काठमाडौंमा गरेको कार्यक्रममा उनले नेपालमा प्रचण्डले चाहेजस्तो जातीय राज्य सम्भव नभएको बताए । सडकमा लाखौं मान्छे उतार्छु भनेर प्रधानमन्त्रीले कसलाई धम्की दिएको भनी उनले प्रश्न समेत गरे । कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका प्रचड अराजक बनेको भन्दै कोइरालाले उनलाई किन मान्ने भन्ने प्रश्न पनि उठाए । कोइरालाले भने, ‘गोरखाबाटै निर्वाचित भएका प्रधानमन्त्रीले सडकमा लाखौं मान्छे उतार्छु भनेर धम्की दिइरहेका छन् । उनी देशको प्रधानमन्त्री हुन् कि पार्टीको अध्यक्ष ?’

प्रधानमन्त्री जस्तो पदमा रहेको व्यक्तिले गैरजिम्मेवार तरिकाले बोल्न नमिल्ने कोइरालाले बताए । ‘उनले विराटनगर गएर २०८४ मा माओवादीलाई जिताउनुस्, म जातीय राज्य दिन्छु भने । के प्रधानमन्त्रीले खल्तीबाट जातीय राज्य निकालेर दिने हो ? उनले पहिलो संविधानसभामा जातीय राज्य दिएको होइन ? उनले चाहँदैमा हुँदैन र जातीय,धार्मिक र साम्प्रदायिक हिसाबले मिलेको देशलाई भाँड्ने अराजक कुरा गर्न मिल्दैन’, कोइरालाले भने ।

उनले देशमा फैलिएको अराजकता रोक्ने हैसियत नेपाली कांग्रेसमा मात्र रहेकाले अब कांग्रेसले सरकारको नेतृत्व गर्ने बेला आएको बताए । धरान, मलंगवा हुँदै नेपालगञ्जसम्मका घटनाले अराजकताको संकेत गरेकाले अब कांग्रेसले नेतृत्व लिनुपर्ने उनको तर्क छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७