विश्वकप क्रिकेटमा न्युजिल्याण्डको लगातार दोस्रो जित


२३ आश्विन २०८०, मंगलवार
Xw3OVzXc1696897850

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । हिजो भएको खेलमा न्युजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो ।

न्युजिल्याण्डले दिएको ३२३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४६ ओभर ३ बलमा २२३ रनमा अलआउट भयो । नेदरल्याण्ड्सका कालिन एकरमेनले सर्वाधिक ६९ रन बनाए ।

न्युजिल्याण्डका मिचेल सेन्टनरले ५ विकेट लिए । म्याट ह्यारीले ३ र रचिन रविन्द्रले एक विकेट लिए । त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२२ रन बनाएको थियो । उसका विल योङले सर्वाधिक ७० रन बनाए ।

यस्तै कप्तान टम लाथमले ५३ र रचिन रविन्द्रले ५१ रन बनाए । बलिङतर्फ नेदरल्याण्ड्सका आर्यन दत्त, पउल भान मिकेरेन र रोल्फ भान डेर मेरवेले २/२ विकेट लिए । पहिलो खेलमा न्युजिल्याण्डले इङ्ल्याण्डलाई ९ विकेटले हराएको थियो । न्युजिल्याण्ड शीर्ष स्थानमा छ । नेदरल्याण्ड्स पहिलो खेलमा पाकिस्तानसँग ८१ रनले पराजित भएको थियो ।

विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज बङ्लादेश र इङ्ल्याण्ड तथा पाकिस्तान र श्रीलङ्काबीच खेल हुनेछ । आजको पहिलो खेलमा बङ्लादेश र इङ्ल्याण्ड नेपाली समय अनुसार बिहान पौने ११ बजे धर्मशालामा खेल्ने छन् । त्यस्तै, दिउँसो सवा दुई बजे पाकिस्तान र श्रीलङ्काबीच हैदराबादमा खेल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७