हालसम्म ३८ हजार ५९ जना डेङ्गुबाट संक्रमित


२४ आश्विन २०८०, बुधबार
dengue

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट संक्रमित हुनेको संख्या ३८ हजार ५९ जना पुगेको जनाएको छ । मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट संक्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन् ।

महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेङ्गुको संक्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । हालसम्म कूल संक्रमित संख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार नौ सय पाँच जना (६२ दशमलव आठ प्रतिशत) संक्रमित भएका छन् भने सबैभन्दा कम संक्रमित प्रदेश कर्णाली एक सय २८ जना (शून्य दशमलव ३ प्रतिशत) छन् ।

त्यस्तै मधेश प्रदेशमा पाँच सय ९० जना (एक दशमलव छ), बागमती प्रदेशमा चार हजार आठ सय ८३ जना (१२ दशमलव आठ प्रतिशत), गण्डकी प्रदेशमा छ हजार आठ सय १८ जना (१७ दशमलव नौ प्रतिशत), लुम्बिनी प्रदेशमा छ सय ५५ जना (१ दशमलव सात प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा एक हजार ८० जना (दुई दशमलव आठ प्रतिशत) संक्रमण देखिएको छ ।

जिल्लागत हिसाबले सबैभन्दा धेरै क्रमशः सुनसरी जिल्लामा १६ हजार ९६ जना (४२ दशमलव तीन प्रतिशत) संक्रमित भएका छन् । तनहुँमा चार हजार छ सय ५१ जना (१२ दशमलव दुई प्रतिशत), झापामा तीन हजार पाँच सय ८१ जना (नौ दशमलव ४ प्रतिशत), धादिङमा तीन हजार एक सय ३० जना (आठ दशमलव दुई प्रतिशत), मोरङमा दुई हजार दुई सय ७४ जना (छ प्रतिशत), कास्की जिल्लामा एक हजार चार सय ८१ जना (तीन दशमलव नौ प्रतिशत), र काठमाडौँमा आठ सय दुई जना (दुई दशमलव एक प्रतिशत) संक्रमित भएका छन् भने अन्य जिल्लामा छ हजार ४४ जना (१५ दशमलव नौ प्रतिशत) डेङ्गुबाट संक्रमित भएका छन् ।

कुल डेङ्गु संक्रमित संख्यामा अगष्टमा मात्र संक्रमित संख्या १३ हजार आठ सय ४६ जना पुगेको थियो । सेप्टेम्बरमा ११ हजार पाँच सय ८० जना र अक्टोबर ११ सम्म चार हजार सात सय ९० जना संक्रमित भएका छन् । गत वर्ष अक्टोबर महिनामा १७ हजार आठ सय ८९ मा डेङ्गु संक्रमण देखिएको थियो । डेङ्गु रोग डेङ्गु भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ ।

महाशाखाले एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कनाले लामखुट्टेले फूल पार्न सक्ने सम्भावित घर र विद्यालयभित्र र वरपरका पानी जम्ने सबै ठाउँ र पानी राख्ने भाँडा खोजी सफा गरौँ र लामखुट्टेको फूल नष्ट गरौँ लगायतका डेङ्गु नियन्त्रणका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७