दक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्ड्सको ऐतिहासिक जित


१ कार्तिक २०८०, बुधबार

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । गए राति धर्मशालामा भएको खेलमा दक्षिण अफ्रिका ३८ रनले नेदरल्याण्ड्सँग पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको २४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २०७ रनमा अलआउट भयो ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिल्लरले सर्वाधिक ४३ रन जोडे भने केशव महाराजले ४०, हेनरिक क्लासेनले २८ रन जोडे । नेदरल्याण्ड्सका लागि लोगन भान विकले ३ विकेट लिए भने पल भेन मिकेरेन, रोलेफ भान डेर र बास डी लिडले २– २ विकेट लिए ।

यस्तै, कोभिन एकरम्यानले १ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ४३ ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो । कप्तान स्कट एडवार्ड्सले ७८ रन अर्धशतकीय पारी खेले । यस्तै, रोलेफ भान डेरले २९ र आर्यन दत्त २३ रन जोडे ।

दक्षिण अफ्रिकाका लुंगी एनगिदी, मार्को ज्यानसेन, कगिसो रबाडाले २–२ तथा जेराल्ड कोएत्जी र केशव महाराजले समान एक एक विकेट लिए । जारी प्रतियोगितामा नेदल्याण्ड्सको यो पहिलो जित हो । यसअघि दुई खेलमा दुवै खेल हारेर पुछारमा रहेको नेदरल्याण्ड्स यो जितसँगै २ अंक जोड्दै एक स्थान माथि उक्लिएको छ । श्रीलंका पुछारमा धकेलिएको छ । दक्षिण अफ्रिकाको भने यो पहिलो हार हो । यस अघिका दुई खेल जितेको दक्षिण अफ्रिका ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७