पुटिनसँगको वार्तामा सीद्वारा चीन–रुसबीच ‘गहिरो विश्वास’ को प्रशंसा


१ कार्तिक २०८०, बुधबार
xi putin

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँको बुधबारको भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई मुलुकबीचको ‘आपसी राजनीतिक विश्वास’ निरन्तर गहिरो हुँदै गएको बताएका छन् ।

सरकारी समाचार समिति सिन्ह्वाका अनुसार राष्ट्रपति सीले ‘अन्तर्राष्ट्रिय निष्पक्षताको रक्षा’ र ‘न्याय’ का लागि चीन र रुसको संयुक्त प्रयासका लागि आग्रह गरे । उनले दुवै मुलुकबीचको ‘घनिष्ठ र प्रभावकारी रणनीतिक समन्वय’ को प्रशंसा समेत गरे । ‘द्विपक्षीय व्यापार ऐतिहासिक उचाइमा पुगेको छ, यो दुवै मुलुकले तय गरेको दुई खर्ब अमेरिकी डलरको लक्ष्यको दिशातिर अघि बढिरहेको छ’, उनले भने ।

राष्ट्रपति सीले पछिल्लो १० वर्षमा आफूले राष्ट्रपति पुटिनलाई ४२ पटक भेटेको पनि उल्लेख गरे । उनले आफूहरूबीच राम्रो सम्बन्ध र गहिरो मित्रताको विकास भएको बताए । चीनले यसै साता राष्ट्रपति सीको व्यापार तथा पूर्वाधार बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को शिखर सम्मेलनमा भाग लिन आउने एक सय ३० देशका प्रतिनिधिहरूलाई स्वागत गरेको छ । अतिथिको शीर्ष सूचीमा पुटिन छन् । युक्रेनमाथि रुसको आक्रमणले आफ्नो शासन अन्तर्राष्ट्रियरूपमा एक्लिएपछि प्रमुख विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश भ्रमण हो ।

चीन रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक हो । गत वर्ष यी दुई मुलुकबीचको व्यापार एक खर्ब ९० अर्ब डलर पुगेको बेइजिङ भन्सार तथ्याङ्कले देखाएको छ । युक्रेन युद्धमा बेइजिङको धारणाप्रति पश्चिमा मुलुकहरूले चीनको आलोचना गर्दै आएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेकामा चीनले मस्कोको आलोचना गर्न अस्वीकार गरेको छ र आफू यस मामिलामा तटस्थ रहेको बताउँदै आएको छ ।

बेइजिङमा रुसी राष्ट्रपति पुटिन चीनसँग पहिलेदेखि मजबुत भएको सम्बन्धलाई अझ बलियो बनाउने अभियानमा छन् तर विज्ञहरूका अनुसार चीनसँगको सम्बन्धमा मस्को तीव्ररूपमा सानो साझेदार बनिरहेको छ । इजराइल र प्यालेस्टिनी लडाकू समूह हमासबीचको युद्ध सुरु भएपछि बीआरआई शिखर सम्मेलन छायाँमा परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७