खैरहनीमा तटबन्ध अभियान


१२ कार्तिक २०८०, आईतवार
tatabandhan
फाइल फोटो

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाको प्रमुख बजार क्षेत्र र पर्सासहित प्रायः सम्पूर्ण भाग वर्षातको समयमा डुब्ने समस्या समाधान गर्न तटबन्ध अभियान सञ्चालन गरिएको छ । नगरपालिकाले आन्तरिकसहित सङ्घीय र अन्य निकायबाट समेत बजेट जुटाएर अभियानकै रूपमा तटबन्ध थालेको हो ।

नगर प्रमुख शशिकुमार खनियाका अनुसार आगामी दिनमा मुख्य बजार क्षेत्रसहितका बस्ती डुबान रोक्ने गरी काम भइरहेको छ । नदी तटबन्ध गर्दैगर्दा नदी किनारका सडक समेत निर्माण गरिएको छ । यो संरक्षण र पर्यटनका हिसाबले महत्वपूर्ण हुने उनको भनाइ छ ।

उनका अनुसार पर्सा बजारमा हरेक वर्ष डुबान गर्ने लदरी, ढुङ्ग्रे, बुढीराप्ती, इचर्नी खोला र मगनी घोलमा तटबन्ध र आरसिसी पर्खालको काम भइरहेको छ । उनले भने, ‘हामी निर्वाचित भएर आएपछि सुरुमै प्राविधिक लिएर डुबान क्षेत्रको अध्ययन गरेर तटबन्ध थालेका हौँ ।’ सुरुमा चतरा खोलालाई एक दशमलव पाँच मिटर गहिरो बनाएर पानी कटाएको उनले बताए ।

राष्ट्रिय योजना आयोगमा आग्रह गरेर कयर खोलाको तटबन्ध गरिएको छ । रु ४५ करोड हाराहारीमा खैरहनी र रत्ननगर नगरपालिकाको तीन दशमलव पाँच किलोमिटर तटबन्धको काम सम्पन्न भएको छ । त्यस्तै ढुङ्ग्रे खोलामा भारतीय राजदूतावासको सहयोगमा वडा नं ७ र १० को सीमा क्षेत्रमा करिब रु छ करोड ५० लाख लागतमा तटबन्धको काम अन्तिम चरणमा पुगेका प्रमुख खनियाले बताए । नगरपालिकाले आफ्नै स्रोतबाट रु साढे छ करोड व्यवस्था गरी चतरा खोला, लदरी खोला, बुढी राप्ती, पटेनी खोलाको तल्लो भाग, वडा नं ५ र ६ को बीचमा रहेको गौचरनको छेउमा तटबन्धको काम भइरहेको छ ।

बुढी राप्ती खोलाको छेउमा अपाङ्गतामैत्री सडकसमेत निर्माण गरिएको छ भने डुङ्गा सञ्चालन गर्न मिल्ने गरी संरचना निर्माण भइरहेको छ । कयर, बुढी राप्ती, पटेनी, ढुङ्ग्रे खोला छेउछाउका ठाउँमा झण्डै पाँच हजार वृक्षरोपण गरिएको छ । यसले भू–क्षय रोक्न सहयोग पुग्ने उनको भनाइ छ । गत वर्षबाट थालिएका यी कामलाई यस वर्ष पनि निरन्तरता दिने उहाँको भनाइ छ ।

नगर उपप्रमुख कविता उप्रेतीले खैरहनीको प्रमुख समस्याको रूपमा रहेको तटबन्धनलाई प्राथमिकता दिएको बताइन् । बजार र ग्रामीण क्षेत्रमा हरेक वर्ष डुबानको समस्या हुँदै आएकामा आगामी दिनमा यो समस्या अन्त्य हुने विश्वास व्यक्त गरिन् । विगतका वर्षहरूमा राप्ती नदीले दुःख दिने गरेको यस क्षेत्रमा राप्ती नदी तटबन्धनपछि त्यहाँका साना खोलाले वर्षात्मा दुःख दिने गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७