भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा


१९ कार्तिक २०८०, आईतवार
BO Tribeni 1 scaled

काठमाडौँ । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीसहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो ।

उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए । ‘कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्नेछ’, उनले भने ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा. अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जानकारी दिए । उनले पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको उल्लेख गरे । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चार वटा पराकम्प गइसकेको छ ।

केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर सोही राति १२ः८ बजे ४ दशमलव ५, १२ः२९ बजे ४ दशमलव २, १२ः३५ बजे ४ दशमलव ३ र शनिबार दिउँसो ३ः४० बजे ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको छ । उक्त भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा १५७ व्यक्तिको निधन भइसकेको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७