भूकम्प प्रभावितलाई राहत घोषणा गर्न मन्त्रिपरिषद बैठक जारी


१९ कार्तिक २०८०, आईतवार
Cabinet bhukampa 2 scaled

काठमाडौं । भूकम्प प्रभावितलाई राहत प्याकेज घोषणाका लागि मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

आजको बैठकमा छलफलपश्चात जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आवश्यक राहतको घोषणा हुने बताइएको छ । सरकारले भूकम्प प्रभावितलाई तत्काल उद्धार, उपचार, राहत र पुनर्स्थापनालाई प्रभावकारी तुल्याउने पहल थालेको छ । शुक्रबार प्रधानमन्त्री दाहालसहितको टोली भूकम्प प्रभावित क्षेत्र पुगेर फर्किएको छ ।

Cabinet bhukampa 1

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले १५७ को ज्यान गएको छ । २०८ जना उपचारत छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी गोपालचन्द्र भट्टराईले शनिबार साँझसम्म जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको बताए । यस्तै जाजरकोटको छिमेकी जिल्ला रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

भूकम्पका कारण जाजरकोटका नलगाड, भेरी र छेडागाड नगरपालिका तथा कुशे र बारेकोट गाउँपालिकामा क्षति भएको छ । यस्तै रुकुमपश्चिमका आठबिसकोट र सानीभेरी नगरपालिकामा क्षति भएको हो । यस क्षेत्रका अधिकांश घरहरू भत्किएका छन् । रातको समयमा आएको भूकम्पका कारण सुतेका मानिसहरू घरबाहिर निस्कनै नपाएको स्थानीयको भनाइ छ । भूकम्पपछि घरहरू भत्किएको र धेरैजना त्यसमा पुरिएको प्रहरीको भनाइ छ ।

Cabinet bhukampa 3

जाजरकोटमा ज्यान गुमाउने मध्येभेरी नगरपालिकामा पुरुष १४ जना, महिला २८ जना गरी ४२ जना, नलगाड नगरपालिकामा पुरुष १६, महिला ३९ गरी ५५ जना, कुशे गाउँपालिकामा पुरुष ३ र महिला ४ गरी ७ जना र छेडागाड नगरपालिकामा १ जना महिला छन् । त्यस्तै रुकुमपश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । प्रदेश प्रहरी प्रवक्ता भट्टराईका अनुसार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा ४२ जना र सानीभेरी नगरपालिकामा १० जना गरी ५२ जनाको मृत्यु भएको हो । रुकुमपश्चिममा भने ७९ जना घाइते भएका छन् । शनिबार दिनभर उद्धार तथा घाइतेको उपचारमा नेपाली सेना, प्रहरी र स्थानीयहरू जुटेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७