इजरायलमा मारिएका १० जनाकै शव नेपाल आइपुग्यो, विपिनको उद्धारको पहल जारी


१९ कार्तिक २०८०, आईतवार
isreal death

काठमाडौँ । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।

गए राति फ्लाइ दुवइको विमानमार्फत ११ः३० बजे डोटी लामीखाल–८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए । उनले भने, ‘इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीको शव नेपाल ल्याइएको छ । इजरायलमा हाललाई उद्धार कार्य करिब करिब सकिएको छ । बेपत्ता भएका विपिन जोशीको उद्धारका लागि पहल भइरहेको छ ।’

CS Janakpur DCM2023754
दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात अक्टोबर ७ मा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । आक्रमणमा परि डोटी लामीखाल–८ का पदम थापा, सल्यान सारदा–३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो । 

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन छन् । केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्दार गरी नेपाल ल्याएको थियो ।

डोटी लामीखाल–८ का पदम थापा, डोटी पचनाली–३ का राजन फुलारा र सल्यान सारदा–३ का प्रवेश भण्डारीको शव आज दिउँसो १२ बजेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सम्बन्धित जिल्लामा पठाइने तयारी भएको सहसचिव आरणले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७