पूर्व सचिव अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१९ कार्तिक २०८०, आईतवार
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीविरुद्ध एक करोड साढे ३१ लाख विगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा किसानलाई स्पेसिफिकेशन र सम्झौता विपरीत कम क्षमता र गुणस्तर नभएको मिनिटिलर तथा अन्य यन्त्र उपकरण वितरण गरेर भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालत काठमाडौंमा आज (आइतबार) आरोपपत्र दर्ता गरेको हो ।

आरोपपत्रमा अधिकारीसँगै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारी पनि भ्रष्टाचारमा संलग्न भएको उल्लेख छ ।

तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीले सम्झौता बमोजिम खरीद सम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन समेत नगरी–नगराई भुक्तानी सम्बन्धी टिप्पणी सदर गरी सम्झौता बमोजिम गुणस्तर र ब्रान्डको वितरण गर्नुपर्ने यन्त्र उपकरणभन्दा कम गुणस्तरको र फरक ब्रान्डको मिनिटिलर खरीद र आपूर्तिकर्तालाई भुक्तानी गरेको पाइएको छ ।

तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवालीले सम्झौता बमोजिम खरीद सम्बन्धी कागजात संलग्न भए–नभएको एवं सम्झौता बमोजिम गुणस्तर र ब्रान्डको यन्त्र उपकरण रहे–नरहेको अध्ययन नगरी सम्झौतामा उल्लेख भएबमोजिम गुणस्तर र ब्रान्डभन्दा कम गुणस्तर र फरक ब्रान्डको यन्त्र उपकरण आपूर्तिकर्तालाई भुक्तानीको लागि टिप्पणी सिफारिस गरेको आरोपपत्रमा उल्लेख छ ।

त्यस्तै, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले सम्झौता बमोजिम खरीद सम्बन्धी कागजात संलग्न भए–नभएको एवं सम्झौता बमोजिम गुणस्तर र ब्रान्डको यन्त्र उपकरण रहे–नरहेको अध्ययन नै नगरी फरक ब्रान्ड र कम गुणस्तरको यन्त्र उपकरण आपूर्तिकर्ताले पेश गरेको कागजात जस्ताको तस्तै भुक्तानीको लागि टिप्पणी पेश गरेको अभियोग छ ।

आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीले सम्झौतामा उल्लेख भएबमोजिम गुणस्तर र ब्रान्डको वितरण गर्नुपर्ने मिनिटिलर खरीद नगरी कम गुणस्तर र ब्रान्डको मिनिटिलर वितरण गरी, सम्झौता बमोजिम नै मिनिटिलर खरीद र वितरण गरेको भनी भुक्तानी माग गरेको पाइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७