रिसइबीका कारण परिवारकै हत्या : पक्राउ परेकाले भने, ‘राेएकाले बच्चालाई पनि छाडेनौं’

दीपकले कतारको भिसा पठाउन अस्वीकार गरेपछि रिसाएका थिए गोपाल


२४ कार्तिक २०८०, शुक्रबार
mugu hatya case

मुगु । मुगुमा एकै परिवारका चार जनाको हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तलाई प्रहरीले आज (शुक्रबार) सार्वजनिक गरेको छ । छायाँनाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय मनोज, ७ वर्षीया अप्सरा र पाँच महिने रहरको हत्या आरोपमा नातेदार दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिका–७ पिनाका ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुन्दुका ३१ वर्षीय गोपालबहादुर बोहोरा रहेका छन् । उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार गोपाल श्रीदेवीका मामाका छोरा हुन् ।

MUGU Murder

श्रीदेवीका श्रीमान दीपक रोजगारका लागि कतारमा थिए । प्रहरीका अनुसार गोपाल पनि कतारमा दुई वर्ष बसेर राम्रो कमाइ नभएको भन्दै फर्किएका थिए । दीपक भने गत मंसिरमा कतार गएका थिए । दीपकलाई भिसा पठाइ दिन आग्रह गरेको भए पनि अस्वीकार गरेपछि गोपाल रिसाएको अनुसन्धानबाट देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी भीमप्रसाद ढकालले जानकारी दिए । त्यही रिसिइबीका कारण परिवारकै हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

एक आरोपितले बच्चा रुन थालेकाले एक वर्षका बालकको समेत हत्या गर्नुपरेको बयान दिएका छन् । प्रहरी नियन्त्रणमा रहेका आरोपित गोपाल बोहोराले एक वर्षको सानो बच्चा रुन थालेकाले गाउँलेले थाहा पाउने डरले बालकको समेत हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । प्रहरीको प्रारम्भिक सोधपुछमा आरोपित गोपालले हत्या लुटपाटको उद्धेश्यबाट भएको र हत्या गर्ने क्रममा सानो बच्चा पनि रोएको कारण गाउँलेले थाहा पाउने डरले बच्चाको समेत हत्या गरेको बयान दिएका हुन् ।

दसैंको टीका लगाएर कात्तिक ८ गते साँझ श्रीदेवी माइतीबाट फर्किएकी थिइन् । त्यही बेला उनीहरू घरभित्र प्रवेश गरेर चारै जनाको हत्या गरेको पाइएको डिआइजी ढकालले बताए । हत्यापछि उनीहरूले श्रीदेवीको फोन, साढे २ तोला सुनको रिङ र २५ लालको घाँटीमा रहेको तिलहरी लुटेर भागेका थिए ।

घटनापछि गोर्खबहादुर मुगु र जुम्लाको सीमाना भुलभुलेसम्म हिँडेर पुगे भने त्यहाँबाट सुर्खेत जाने बस चढेर कात्तिक ९ गते सुर्खेत पुगेका थिए । दुई साताको अनुसन्धानपछि प्रहरीले कात्तिक २३ गते नेपालगन्जबाट गोर्खबहादुरलाई पक्राउ गरेको हो । प्रहरीले घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत मुगुबाट ११ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७