उज्यालो भविष्य खोज्दै भुजीका बालबालिका


२५ कार्तिक २०८०, शनिबार
Student surkhet
फाइल फोटो

–रमेश ढुङ्गेल
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीस्थित ठिङ्केपु आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्ने रिया सुनुवार माथि हेर्दै डराइडराइ पहिरो पार गरेर विद्यालय पुग्छिन् । उनलाई विद्यालयमा पढ्न आउँदा र फर्किंदा माथिबाट पहिरोसहित ढुङ्गा खस्छ कि भन्ने डर छ । ज्यान जोखिममा राखेर उनी जस्ता बालबालिका उज्यालो भविष्य खोजिरहेका छन् ।

पहिरोका कारण स्थानीय ठिङ्केपु विद्यालयमा पढ्न आउने रियासँगै खिनमाया, आईश्वरी, अर्निताजस्ता धेरै बालबालिका जोखिम पार गरेर पढ्न आउन बाध्य छन् । भविष्यलाई उज्यालो बनाउन उनीहरु जस्ता धेरै बालबालिकाले सङ्घर्ष गरिरहेका छन् । पहिरोकै कारण विद्यालयमा आउने विद्यार्थी कम भइसकेका विद्यालयका प्रधानाध्यापक राजन सुवेदीले बताए ।

‘यो पहिरो जानुअघि तीन सय ५० भन्दाबढी विद्यार्थी थिए । अहिले घटेर ७५ पुगेका छन् । हिँउद र वर्षा दुवै समयमा आउने पहिरोका कारण विद्यालय सञ्चालन गर्न कठिनाइ भइरहेको छ । हिजोआज पनि विद्यार्थीहरू डराइडराई विद्यालयमा आइपुग्छन् । सर आज ढुङ्गा खसेन नी भनेर खुसी हुन्छन्’ उनले भने, ‘वर्षाको बेलामा ल्याउने र पुर्‍याउने गर्नुपर्छ । पहिरो कटाउन सकिएन भने यतै व्यवस्थापन गर्नुपर्छ । ठूलै झरी परे विद्यार्थी आउने सम्भावना नै हुँदैन ।’

student 1

ज्यान जोखिममा राखेर नानीबाबुहरू आउँछन् । मानसिकरूपमा नै थाकेर स्कुल आइपुगेका कलिलो दिमागले कति ज्ञान लिन सक्लान् र खै ? सुवेदीले दुखेसो पोखे । ‘यो त दोस्रो घ्याप्चेभन्दा पनि फरक पर्दैन । त्यहाँ जस्तै यहाँ पनि पहिरोले साह्रो कष्टकर दैनिकी बनाएको छ’, उनले भने । मन्थली नगरपालिका र लिखु तामाकोसी गाँउपालिकाको सिमानामा पर्ने ध्याप्चे पहिराका कारण सालुको गैराथोक कठजोरको अर्चलेका धेरै स्थानीय विस्थापित भइसकेका छन् । सदरमुकाम मन्थली र आसपाका धेरै खेतीयोग्य जमिनलाई नस्ट पारेको घ्याप्चेको पहिरोलाई जिल्लाको ठूलो पहिराका रुपमा लिइन्छ ।

सानो पानी परे पनि पहिरो खस्ने र हिउँदमा सुख्खा पहिरो खसेर बाटो माथिबाट ढुङ्गा झर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकुमार सुनुवारले बताए । ‘पानी पर्‍यो कि पहिरो झरिहाल्छ । पहिरो कतिबेला आएर के गर्ने हो पत्तो हुँदैन । अर्कोबाटो भएर घुमेर आउ नानीबाबु भन्न पनि कतै बाटो छैन’, उनले भने, ‘पहिरो झरेको फेदीमा झेलुङ्गे पुलको योजना पर्‍यो भन्ने सुनिन्छ तर पुल तरेर आउदा÷जाँदा बालबालिकालाई निकै उकालो ओरालो हिँड्नुपर्छ ।’

भुजीको पहिरो रोकिनेभन्दा पनि जोखिम बढाउँदै गइरहेको छ । विसं २०७२ को भूकम्पदेखि सुरु भएको उक्त पहिरो त्यस वर्षको वर्षातको समयदेखि बढ्दै गएको स्थानीय भीमबहादुर नेवारले बताए । ‘निरन्तर पहिरो झर्ने भएकाले जोखिम बढ्दै गएको छ । विद्यालय जाने-आउने बालबालिकालाई निकै समस्या छ’, उनले भने, ‘जोखिमका कारण वर्षाद्को समयमा बालबालिकालाई वडाको व्यवस्थापनमा वडा कार्यालयमा राखेर पढउने गरिन्छ ।’

पहिरोका कारण भुजीको ठिङ्केपुु पीपलडाँडा, सारीटोल, कोकर्सी गाउँको नेवारी, सुनुवार र दलित समुदाय गरी करिब ८० घरपरिवार विस्थापित भइसकेका उमाकुण्ड गाउँ कार्यपालिका सदस्य हेमन्त सुनुवारले जानकारी दिए । उनका अनुसार पीपलडाँडाबाट विस्थापित भई वडाध्यक्ष रुद्रमणि नेवारसहित दलित र नेवारी समुदायका २५ घरपरिवार अन्यत्र बसाइँसराइ गरिसकेका छन् ।

भूर्गविद्लाई यससम्बन्धी गहिरिएर अध्ययन गराई समस्याको समाधान गर्नुपर्ने भन्दै समयमा नै समस्या समाधान नभए थप जोखिम बढ्ने कार्यपालिका सदस्य सुनुवारले बताए । ‘सरकारले यस ठाउँको बस्ती स्थानान्तरणको कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रम प्रभावकारी ढङ्गबाट कार्यान्वयन हुन सकेको छैन । रुना, ठिङ्केपु, पीपलडाँडा, फास्तुबाट वडा कार्यालय आवतजावत गर्न सङ्घीय सरकारमार्फत मुहान खोलामा झोलुङ्गे पुलको योजना पर्नुका साथै पहिरो नियन्त्रणका लागि प्रदेश सरकारबाट रू १० लाखको योजना परेको छ । तर यो मात्र पर्याप्त छैन’, उनले भने ।

उक्त पहिरोको जोखिमका कारण वर्षाद्का समयमा भुजीस्थित पोल्दिममा भएको स्वास्थ्य चौकीमा र वडा कार्यालयमा आउने सेवाग्राहीको संख्या पनि घटेको स्थानीय दशराम सुनुवारले जानकारी दिए । ‘पहिरोले विद्यालय र बालबालिकालाई मात्र नभएर अरु स्थानीयलाई समेत समस्या परेको छ । ओल्लोपाटोका नागरिकलाई किनमेलका लागिसमेत समस्या छ’, उनले भने, ‘दैनिक उपभोग्य सामान खरिदका लागि पहिरो कटेर जानुपर्ने बाध्यता छ ।’

पहिरोलाई रोकछेक गर्ने कुनै सम्भावना नै नभएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । ‘हामीले अहिलेलाई त्यहीँ पहिरोको बीचबाट बाटो खोलेका छौँ । तर त्यहाँबाट आवतजावत गर्न जोखिम छ’, उनले भने, ‘हरेक वर्ष बाटो खोल्छौँ । वर्षा लागेपछि बाटो सरेर झण्डै एक सय मिटरभन्दा तल पुगेको हुन्छ । त्यसको विकल्पका लागि पुल बनाउने योजनामा छौँ ।’ पुल निर्माणका लागि कार्यपालिकाबाट निर्णय भएर केन्द्रमा गइसकेको अध्यक्ष सुनुवारले जानकारी दिए । यो प्रक्रियागत काम भएकाले छिट्टै पुल बनाउने काम सुरु हुने उनको भनाइ थियो । पुल बनेपछि मात्रै यहाँका नागरिकले पहिरोको जोखिमबाट मुक्ति पाउने छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७