सि जिनपिङ फेरि चीनको सर्वोच्च नेता


८ कार्तिक २०७४, बुधबार
xi jinping 1

काठमाडौं : चिनियाँ राष्ट्रपति सि जिनपिङले आगामी पाँच वर्षका लागि कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको नाम घोषणा गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं सम्मेलनले शीलाई पुनः महासचिवमा निर्वाचित गरे लगत्तै उनले शीर्ष नेताहरुको नाम घोषणा गरेका हुन् ।

बेइजिङस्थित द ग्रेट हल अफ पिपलमा आयोजित एक समारोहका बीच राष्ट्रपति सिले आगामी पाँच वर्षका लागि सत्तारुढ कम्युनिष्ट पार्टीका शीर्षस्थ नेताहरुको नाम घोषणा गरे ।  सीपीसीको बुधबार बस्ने पहिलो पूर्ण (प्लेनम) बैठकले २५ सदस्यीय पोलिटब्युरो र ७ सदस्यीय पोलेटब्युरो स्थायी समिति चयन गरेको हो । स्थायी कमिटीमा आएका मध्ये ५ नयाँ हुन् । प्रधानमन्त्री ली खछयाङले नेतृत्वपंक्तिमा निरन्तरता पाएका छन्।

महाधिवेशनले सीपीसीको केन्द्रीय समिति र केन्द्रीय अनुशासन अनुगमन आयोगको निर्वाचन गरेको छ । ३ सय ७६ निर्वाचित केन्द्रीय समितिमा २ सय ४ जना पूर्णकालीन र १ सय ७२ जना वैकल्पिक सदस्य छन् । त्यसैगरी केन्द्रीय अनुशासन अनुगमन आयोगमा १ सय ३३ सदस्य निर्वाचित भएका छन् । महाधिवेशनबाट २ हजार ३ सय ८७ प्रतिनिधिले प्रान्तीय प्रमुख, गभर्नर र सरकारी स्वामित्वका उद्योगका प्रमुखसमेत चयन भएका छन् ।

xi jinping 1

ली झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी र हान झेङ पार्टीको नीति निर्माण गर्ने निकायको रुपमा रहेको स्थायी कमिटीमा समेटिएका छन्। स्ट्याण्डिङ कमिटिका सदस्यहरु देशको सबैभन्दा शक्तिशाली नेता मानिन्छन् ।

यसअघि राष्ट्रपति सी चिनफिङको नाम र विचारधारालाई आफ्नो विधानमा ‘माओवाद’ सरह स्थान दिएको छ । बेइजिङमा जारी पार्टी महाधिवेशनको अन्तिम सत्रले उनको ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’लाई ‘सी चिनफिङवाद’का रूपमा विधानमै ग्रहण गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

विगत केही दशकबाट चिनियाँ नेताहरु आफ्नो एक वा एकभन्दा बढी उत्तराधिकारी चुन्दै आएका छन् । तर यस पटक आफ्नो शक्ति अझ मजबुत बनाइराख्न राष्ट्रपति जिनपिङले चिनियाँ कम्युनष्टि पार्टीको परम्परा तोड्न सक्ने अनुमान गरिएको छ । कम्युनिष्ट पार्टी कांग्रेस (सीपीसी) समापन भएपछि स्ट्याण्डिङ कमिटि र २५ सदस्यीय पोलिटव्यूरो घोषणा गरिन्छ ।

सीपीसीले शक्तिशाली केन्द्रीय कमिटिको चुनाव गराउँछ । दुई सय सदस्यीय केन्द्रीय कमिटिको वर्षमा दुई पटक बैठक बस्छ । सीपीसीले मंगलबार जिनपिङलाई आगामी पाँच वर्षका लागि कार्यकाल दोहोर्याउने मञ्जुरी दिँदै उनको विचारधारालाई संविधानमा स्थान दिएको थियो । विचारधारा सर्वसम्मतिले संविधानमा समावेश गरिएसँगै राष्ट्रपति जिनपिङको पकड अझ मजबुत बनेको छ । उनी चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्से–तुङ समानकै नेताका रुपमा दर्ज भएका छन् ।

पार्टी विधानमा सीको नयाँ युगलाई महत्त्वपूर्ण विचारधारा र वैज्ञानिक विकाससम्बन्धी धारणासँगै मिलेर चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशिका बनाउने कुरा समेटिएको छ । महाधिवेशनमा सीले प्रस्तुत गरेको प्रतिवेदनलाई ‘चिनियाँ कम्युनिस्ट पार्टी र सम्पूर्ण चिनियाँहरूको नेतृत्व गरी नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको विकास गर्ने राजनीतिक घोषणापत्र तथा कार्यक्रम निर्देशिका र माक्र्सवाद तथा लेनिनवादको निर्देशिका दस्तावेज भएको’ ठहर गरिएको छ ।

गत बुधबार सुरु महाधिवेशन उद्घाटन सत्रमा सीले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ आवश्यक भएको व्याख्या गर्दै ३ घण्टा लामो सम्बोधन गरेका थिए । सीको उक्त विचारधारा सम्मेलनमा प्रस्तुत भएपछि पार्टीका शीर्ष अधिकारी र सञ्चारमाध्यमका तर्फबाट लगातार यसको प्रशंसा हुँदै आएको थियो ।

सन् २०१२ मा चीनको राष्ट्रपतिमा चुनिएका जिनपिङ आगामी पाँच वर्षका लागि फेरि राष्ट्रपति बन्ने भएका छन् । अन्य चीनियाँ नेता केवल १० वर्षसम्म मात्रै पार्टीमा सेवा गर्दै आएपनि जिनपिङ पार्टी प्रमुख र सेनाध्यक्षको हैसियतमा रहिरहन सक्छन् । कम्युनिष्ट पार्टीको स्ट्याण्डिङ कमिटिका सात सदस्यमध्ये पाँच जना सेवानिवृत्त हुने भएका छन् । वर्तमान स्ट्याण्डिङ कमिटिमा सदस्यबाट जिनपिङ र प्रिमियर–ली–कचियाङ मात्रै दोहोरिने भएका छन् ।

के हो ‘सी सि जिनपिवाद’ ?

पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपति सीले चिनियाँ विकासको सफलता अरू कुनै ‘वाद’ नभएर समाजवाद भएको धारणा राखेका थिए । सीले ‘पूर्णरूपमा वैज्ञानिक समाजवादको सिको नगरी चिनियाँ वस्तुस्थितिसँग तादात्म्यता’ नै विकासको प्रमुख आधार भएको बताएका थिए । सिन्हवाका अनुसार अब उनको धारणा र साम्यवादको नयाँ स्वरूप नै चीनको ‘प्रमुख विचारधारा’ का रूपमा स्थापित हुने भएको छ ।

सीले व्याख्या गरेको चिनियाँ विशेषतासहितको समाजवाद अर्थात् ‘सी चिनफिङवाद’ चार दीर्घकालीन रणनीति समावेश छन् । जसमा मध्यम समृद्ध समाजको निर्माण, सुधारका कार्यक्रम, विधिको शासन र पार्टीको सुदृढीकरण समावेश छन् । यी रणनीतिअनुसार विगत ३० वर्षमा चीनले ७० करोड जनतालाई गरिबीको रेखामाथि उठाएको छ ।

धेरै पश्चिमा देशहरूको आर्थिक वृद्धिदर ओरालो लागिरहेका बेला चीन भने स्थिरतातर्फ अग्रसर छ । यसको कारण पार्टीको शक्तिशाली नेतृत्व र चिनियाँ विशेषतासहितको समाजवाद भएको सिन्हवाले जनाएको छ । सन् १९८२ को राष्ट्रिय कंग्रेसदेखि पार्टीले चिनियाँ विशेषतासहितको समाजवादको नारालाई उठान गरे पनि आधुनिक युगको तेस्रो चरणमा आएर चीनले यसलाई पूर्णरूपमा ग्रहण गरेको हो ।

दशकौंको तीव्र आर्थिक वृद्धिपछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बनेको चीनको विगत ३ वर्षको कुल गार्हस्थ्य उत्पादन औसत ७।२ प्रतिशतले वृद्धि भएको छ । सीले जनतासमक्ष सन् २०२० सम्म मध्यम समृद्ध समाज निर्माण गर्ने एवं जनताको जीवनशैली सुधार गर्नमा चिनफिङवाद आवश्यक हुने जनाइएको छ । सन् २०२० सम्ममा मध्यम समृद्ध समाजको लक्ष्य हासिल गरेपछि देशभरका जनता सन् २०४९ सम्ममा आधुनिक समाजवादी राष्ट्र निर्माणमा उत्प्रेरित हुने सीले बताएका छन् । सीले अगाडि सारेको ‘सिल्क रोड’ को अवधारणाले चीन मात्र नभई अन्तर्राष्ट्रिय जगत्लाई नै जागरुक बनाएको छ । उनैले प्रस्ताव गरेको एसियाली पूर्वाधार लगानी बैंक भविष्यको सबभन्दा ठूलो वित्तीय संस्थाका रूपमा उदाउने अनुमान गरिएको छ । सुस्त र अन्तर्म‘खी चिनियाँ स्वभाव त्याग्दै सीले शक्तिशाली र विकसित मुलुक मात्र होइन, अल्पविकसित देशको भ्रमण गर्दै छिमेकी देशलाई पनि सम्पन्न बनाएपछि मात्र गरिबी र पछौटेपनबाट मुक्ति हुने कुरालाई अन्तर्राष्ट्रिय जगत्मा राख्दै आएका छन् ।

चिनियाँ राजनीतिक व्यवस्थाअनुरूप दीर्घकालीन विकास योजना तर्ज‘मा र प्रभावकारी कार्यान्वयन पनि चीनको विकासको अर्को मुख्य उपलब्धि हो । पार्टीले परिवर्तन भइरहने राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थाअनुरूप प्रतिबद्धता र नीति निर्माणमा स्थिर भएकाले पनि चीनलाई उक्त वृद्धिदर कायम राख्न सहयोग मिलेको हो ।

त्यसैगरी पाँच वर्षअघिको महाधिवेशनपछि अपनाइएको कठोर पार्टी शासन र भ्रष्टाचार नियन्त्रण पनि चिनफिङवादका विशेषता हुन् । विश्वव्यापी शासन सुधारका लागि ‘विन–विन’ सहकार्यमा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने र हरेक देशको विकासप्रतिको अधिकार र समान राजनीतिक हैसियतमा चिनफिङवादले जोड दिएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७