सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशमाथि मंसिर २९ गते संसदीय सुनुवाइ हुने


२४ मंसिर २०८०, आईतवार
Screenshot 1215

काठमाडौं । संसदीय सुनुवाइ समितिले मंसिर २९ गते सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशको सुनुवाई गर्ने भएको छ । आज (आइतबार) सिंहदरबारमा बसेको समितिको बैठकले उजुरीकर्तासँग छलफल गरेपछि मंसिर २९ गते प्रस्तावित न्यायाधीशको सुनुवाइ गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध १० वटा उजुरीहरू परेका थिए ।

जसमध्ये प्रस्तावित न्यायाधीश सारंगा सुवेदी विरुद्ध ६ वटा उजुरी परेको छ भने टेकप्रसाद ढुङ्गाना विरुद्ध ३ वटा र अब्दुल अजिज मुसलमानविरुद्ध एकवटा उजुरी परेका थिए । उनीहरुबिरुद्ध अबको बैठकमा सुनुवाई हुने समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । त्यसअघि बैठकमा उजुरीकर्ता पुष्पप्रसाद गुरागाईंले प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुङ्गानाले राजस्व न्यायाधीकरणमा रहँदा नियम विपरीत फैसला गरेको आरोप लगाएका छन् ।

त्यस्तै उजुरीकर्तामध्ये दाइजोको विषयलाई लिएर हत्या गरिएकी आरती साहका बुबा विनोदप्रसाद साहले प्रस्तावित न्यायाधिश सारंगा सुवेदीले उच्च अदालत जनकपुरमा रहँदा कर्तव्य ज्यान मुद्दाका आरोपीलाई धरौटीमा छोडेको र फैसला न्यायसम्मत नगरेको आरोप लगाएका छन् । यस्तै प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानले सम्पत्ति मुद्दामा न्यायसम्मत फैसला नगरेको उजुरीकर्ताको आरोप छ ।

न्यायपरिषदले सर्वोच्चको न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गानालाई सिफारिस गरेको थियो भने वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई पनि सर्वाेच्च अदालतको प्रस्तावित न्यायाधीशमा सिफारिस गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७