फोन ह्याकिङ मुद्दामा मिरर ग्रुपले राजकुमार ह्यारीलाई क्षतिपुर्ति तिर्नुपर्ने


३० मंसिर २०८०, शनिबार
Harry2023 12 16 07 12 19

लण्डन । राजा चार्ल्स तृतीयका कान्छा छोरा प्रिन्स ह्यारीले बेलायती ट्याब्लोइड प्रकाशक विरुद्ध आफ्नो फोन ह्याकिङ मुद्दामा ठूलो जीत हासिल गरेका छन् ।

लण्डन उच्च अदालतले प्रकाशकहरूलाई ह्याकिङ पीडित राजकुमारलाई १.४ मिलियन पाउण्ड क्षतिपूर्ति तिर्न निर्देशन दिएको छ । यस कानुनी सफलतापछि, राजकुमार ह्यारीले ‘सत्य र जवाफदेहिता’ को जित भएको प्रतिक्रिया दिएका थिए ।
लण्डन उच्च अदालतका न्यायाधीशले आफ्नो फैसलामा प्रिन्स ह्यारी बेलायती ट्याब्लोइडले गरेको फोन ह्याकिङको सिकार भएको बताउँदै राजकुमारले १ लाख ४० हजार ६ सय पाउण्ड क्षतिपूर्ति पाउने फैसला गरेका छन् ।

राजकुमार ह्यारी लामो समयदेखि कानुनी लडाइँ लडिरहेका थिए । अमेरिकामा बस्दै आएका प्रिन्स र उनकी श्रीमती मेगन मार्कल केही समयदेखि व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न मुद्दाका कारण चर्चामा छन् । राजकुमारलाई बेलायती राजगद्दीको पाँचौं दावेदार पनि मानिन्छ, तर राजपरिवारबाट उनको दूरी र अन्य केही मुद्दाका कारण निरन्तर चर्चामा आइरहेका छन् ।

लण्डन उच्च अदालतमा मुद्दा जितेका ३९ वर्षीय ह्यारीले मिरर ग्रुप न्यूजपेपर्स (एमजीएन)का तीनवटा पत्रिका द मिरर, द सन्डे मिरर र द पिपलविरुद्ध गम्भीर आरोप लगाएका थिए । न्यायमूर्ति टिमोथी फ्यानकोर्टले आफ्नो फैसलामा ह्यारीको फोन सन् २००३ को अन्त्यदेखि अप्रिल २००९ सम्म सानो तरिकाले ह्याक भएको बताए ।

उच्च अदालतले ‘ड्युक अफ ससेक्स’ राजकुमार ह्यारीको आरोप ‘आंशिक रूपमा प्रमाणित भएको’ भनेको छ । फोन ह्याकिङसँगै सूचना सङ्कलनका लागि गैरकानूनी तरिका अपनाएको पुष्टि भएको छ । जस्टिस फ्यानकोर्टले भने, प्रिन्ससँग सम्बन्धित लेखहरूबाट यो स्पष्ट हुन्छ कि फोन रेकर्डिङमा भएका कुराहरू ठ्याक्कै लेखिएका छन् । यसले ह्याकिङ वा फोन वार्तालापहरू अनाधिकृत सुनेको पुष्टि गर्छ । त्यतिबेला मिरर ग्रुप भित्र फोन ह्याकिङ चलिरहेको थियो ।

मुद्दा झण्डै २० वर्ष पुरानो भए पनि ‘फोन ह्याकिङ’लाई मात्र पत्रकारिताको औजार मान्न सकिँदैन । फैसला पछि, एमजीएन ग्रुपका प्रवक्ताले फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिए । साथै उनले धेरै वर्ष अघिका घटनाक्रमले अगाडि बढ्ने बाटो खुला गरेको साथै गल्तीहरुको लागि संस्थाले निःशर्त माफी मागेको पनि प्रतिक्रिया दिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७