रविको व्यङग्य : हामीसँग बेच्न मदन–वीपी छैनन्, सुशासनको एजेण्डा मात्रै छन्


३० मंसिर २०८०, शनिबार
Ravi Lamichhane

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूसँग बेच्नका लागि मदन–वीपी कोही नभएको भन्दै ठूला दलहरुप्रति व्यङग्य गरेका छन् । ठूला भनिएका दलहरूले मदन–वीपीको नाम बेच्ने गरेको बताउँदै उनले आफूहरूसँग सुशासनको एजेण्डा मात्रै भएको बताए ।

‘बेच्नका लागि हामीसँग मदन–वीपी कोही छैनन् । हामीसँग गरेर देखाउन सुशानको एजेण्डा छ । हृदय र क्षमतावान् व्यक्तित्वहरू हुनुहुन्छ । हामी त्यसकै आधारमा अगाडि बढेका हौं,’ उनले भने । सभापति लामिछानेले नेताहरूले नातपात र साला–भतिजालाई भागबण्डा गरेर देश डुबाएको आरोप लगाए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पदको बाँडफाँड नगर्ने स्पष्ट पारे ।

‘पदको बाँडफाँड गरेर देश कहिल्यै बन्दैन । भागबण्ड गरेरै देशको अवस्था यस्तो भएको हो । एक पटक लुटलाई बन्द गर्ने अवसर दिनुहोस् । मात्र एक पटक अवसर दिनुभयो भने साला भतिजालाई भागबण्डा गर्नेहरूको खेल रोकेर देखाउँछौं,’ उनले भने । विश्वविद्यालयमा तालाबन्दी गरेर देशको भविष्य नबन्ने बताउँदै त्यहाँको ताला खोल्नुपर्ने आवश्यक रहेको बताए ।
उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गरे ।

उनले रास्वपाको उम्मेदवार प्राइमरी निर्वाचनबाट चुनिएर आउने स्पष्ट पारे । ‘आगामी निर्वाचनमा हामीले टीका लगाएर उम्मेदवार बनाउने छैनौं । प्राइमरी इलेक्सन गराएर उम्मेदवार उठाउनेछौं। पैसाको बिटो र रक्सीका बोतल बोकेर चुनाव लड्नेको विरोधी हौं हामी,’ उनले भने, ‘आउने निर्वाचनसम्म एक से एक मान्छेहरू तयार हुनेछन् । ती मान्छेहरूलाई छान्ने जिम्मा पनि तपाईहरूकै हुनेछ ।’

उनले रास्वपाले आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने बताए । त्यसका लागि कुनै दलसँग पनि गठबन्धन नगर्ने उद्घोष गरे । ’हामी कुनै पनि निर्वाचनमा गठबन्धन र ठगबन्धन गर्दैनौं । नेताहरुले गठबन्धन नगर्ने बताए पनि राष्ट्रिसभामा फेरि गठबन्धनकै चर्चा गरिरहेका छन्,’ उनले भने । उनले रास्वपासँग देश हाँक्न सक्ने होनहार व्यक्तिहरु रहेको भन्दै बिगार्नेलाई तुरुन्तै कारबाही गर्ने गरेको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७