पूर्व विद्यार्थीद्वारा विद्यालयलाई आर्थिक सहयोग


२ पुष २०८०, सोमबार
1646274064

पाल्पा । पाल्पाको रामपुरस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयलाई पूर्व विद्यार्थीले रु दुई लाख सहयोग गरेका छन् । नेपाल सरकारका पूर्व सहसचिव तथा यस विद्यालयका पूर्व विद्यार्थी एवं शिक्षक मधुसुदन पोखरेलले हजुरबुबा लोकनाथ र बुबा ज्ञानेश्वर पोखरेलको नाममा रु दुई लाख एक हजार एक सय ५५ बराबरको रकम सहयोगस्वरुप अक्षयकोष स्थापना गर्न विद्यालयलाई सहयोग गरेका छन् ।

सो रकम विद्यालयमा अध्ययनरत असहाय छात्रवृत्ति कोषका रुपमा स्थापना गरी विद्यार्थीको पठनपाठनमा सघाउ पुग्ने उद्देश्यले सहयोग गरिएको सहयोगदाता पोखरेलले बताए । विद्यालयमा हालसम्म रु २० लाख ५८ हजारको रकमबाट अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक बालकृष्ण लम्सालले जानकारी दिए ।

 विद्यालयमा स्थापित अक्षयकोष रकममध्ये दिवाकर भक्तिप्रसाद भट्टराई स्मृति अक्षयकोष र रामनाथ पौडेल स्मृति अक्षयकोषबाट सामाजिक, राजनीतिक तथा धार्मिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्ने गरिएको छ । अन्य अक्षयकोषको रकमबाट विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न र असहाय विद्यार्थीलाई छात्रवृत्तिस्वरुप प्रदान गरिँदै आइएको छ । विद्यालयमा स्थापना भएका अक्षयकोषमध्येबाट हरेक वर्ष करिब एक सय विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिँदैआएको शिक्षक लेखनाथ शर्मा मरासिनी बताउँछन् ।

तीन तहमा विद्यालय चलाउने, हाल पूर्वप्राथमिक तह अन्तर्गत नर्सरीदेखि कक्षा २ सम्म दुई सय विद्यार्थी अध्ययनरत छन् । हाल विद्यालयमा करिब दुई हजार सात सय विद्यार्थी अध्ययनरत छन् । प्राविधिकतर्फ तीनवर्षे कृषिबाली विज्ञान विषयमा समेत यहाँ पठनपाठन भइरहेको छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७