भारतमा ९२ सांसद निलम्बित


३ पुष २०८०, मंगलवार
india loksabha 1702913906

नयाँदिल्ली । भारतमा एक साताको अवधिमा ९२ जना सांसद निलम्बनमा परेका छन् । गत डिसेम्बर १४ र सोमबार गरी जम्मा ९२ जना सांसद निलम्बित भएका भारतीय सञ्चारमाध्यम स्क्रोल इनले लेखेको छ ।

‘पटक–पटक संसदको कार्यवाही अवरूद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई निलम्बन गरिएको छ । जसमा भारतीय संसदको तल्लो सदन लोक सभाका ३३ जना र माथिल्लो सदन राज्य सभाका ४५ जना सांसद छन् ।

त्यस्तै यसअघि लोक सभाका १३ र राज्य सभाका एक गरी १४ सांसदलाई सदनको कार्वाहीका क्रममा ‘अमर्यादित आचरण’ गरेको भन्दै निलम्बन गरिएको थियो । यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ ।

गत डिसेम्बर १३ मा दुई जना युवाले भिजिटर्स ग्यालरीबाट लोक सभा प्रवेश गरी संघीय सरकारविरूद्ध नाराबाजी गर्दै रङ फ्याँकेपछि सुरक्षा उल्लंघनको विषय उठाउँदै संसद पटक पटक स्थगन भएपछि सांसदहरूलाई निलम्बन गरिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा उल्लंघनको घटना‘’अत्यन्त गम्भीर’ भएको बताएका छन् ।

सोमबार निलम्बित विपक्षी सांसदहरूले सांसदहरूको निलम्बन फुकुवा गर्न र संघीय गृहमन्त्री अमित शाहले गत हप्ता संसद सुरक्षा उल्लंघनको घटनालाई लिएर वक्तव्य जारी गर्न माग गरेका थिए । निलम्बनपछि लोक सभाको नियमित काम–कारबाही दिनभरका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७