गौरीफन्टा नाकामा प्रहरी हवल्दारमाथि भारतीय नागरिकबाट हातपात


५ पुष २०८०, बिहीबार
hawaldar kutpit

कैलाली । कैलालीको गौरीफन्टा नाकामा एक नेपाली प्रहरी कर्मचारीमाथि भारतीय नागरिकले हातपात गरेका छन् ।
प्रहरीको पोशाकमै रहेका ती हवल्दारमाथि भारतीय नागरिकले हातपात गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा देखिएका प्रहरी हवल्दार डोकेबजार प्रहरी चौकीमा कार्यरत विष्णु भुल रहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

उक्त घटना पुस ३ गते दिउँसो करिब २ बजेतिरको भएको प्रहरीले जनाएको छ । तर भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्र हवल्दारमाथि हातपात भएको कुरा खुलेको हो । उनी ३ पुसमा उपचारका लागि भारत जान लागेका भाइलाई गाडी चढाउन गौरीफन्टा नाकाको पारीपट्टी भारतीय भूमिमा गएका थिए ।

सोही क्रममा उनीमाथि भारतीय नागरिकले हातपात गरेको बुझिएको डीएसपी प्रकाश डाँगीले बताए । ‘उनीमाथि हातपात गर्ने व्यक्ति चिनेजानेकै हो भन्ने बुझिएको छ । सुरुमा गलामा हात राखेर कुराकानी गरेको र पछि हातपात गरेको भन्ने कुरा आएको छ’, डाँगीले भने, ‘यो विषयमा थप बुझ्ने काम भइरहेको छ ।’

उक्त घटना ३ पुसको दिउँसो करीब २ बजेतिरको भएको प्रहरीले जनाएको छ । ‘गुप्ता सीमा क्षेत्रमा आउजाउ गरिराख्थे । दुवै जनाबीच चिनजान पनि रहेछ तर त्यो दिन किन हातपात गरे खुल्न सकेको छैन’, प्रहरी स्रोतको भनाइ । पुर्ख्यौली घर अछाम भएर हाल कैलालीको टीकापुर बस्दै आएका भुलमाथि हातपात भएको घटना सार्वजनिक भएपछि उनलाई डोकेबजारबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती तानिएको छ । भुलमाथि हातपात गर्ने गुप्ता समूहलाई कारवाहीको माग गर्दैै भारतीय प्रहरीमा निवेदन दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७