पोखरामा फेरि ठड्याइयो वीरेन्द्रको शालिक


९ पुष २०८०, सोमबार
Shalik Birendra saha

पोखरा । पोखरा महानगरपालिका–१० वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक पुनःस्थापना गरिएको छ । गए राति १ बजेर ४५ मिनेटको शुभ मुहूर्तमा शालिक स्थापना गरिएको बताइएको छ ।

शालिक ८ फिट अग्लो ढलोटको रहेको छ । शालिक निर्माणका लागि करिब २५ लाख रुपैयाँ खर्च भएको बताइएको छ । यसअघि निर्मित शालिक माओवादीका कार्यकर्ताले तोडफोड गरेर फालेका थिए । पोखराका चोकहरुमा रहेका शालिकका विषयमा विवाद रहँदै आएको छ । विशेष गरी पोखराको पृथ्वीचोक, विरौटाको वीरेन्द्रचोकको शालिकको विषयमा विवाद छ । पृथ्वीचोकमा हाल लगन थापाको शालिक राखिएको छ भने विरौटाको वीरेन्द्र चोकलाई तमु ह्युल चोक नामाकरण गरिएको छ ।

शालिक ठड्याउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थित नेता÷कार्यकर्ताको हात रहेको स्रोतले बताएको छ । यद्यपि, राप्रपा कास्कीका नेता अरुण गिरीले स्थानीयले स्वतःस्फूर्त रुपमा सालिक पुनःस्थापना गरेको जानकारी पाएको बताए ।
‘राजा वीरेन्द्रप्रतिको आस्थाका कारण स्थानीयले नै त्यो काम गरेको जानकारी आएको छ,’ उनले भने । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता क्षेत्रबहादुर केसीको नेतृत्वमा २०५९ सालमा शालिक स्थापना गरिएको थियो । क्षेत्रबहादुरलाई तत्कालीन विद्रोही माओवादीले गोली हानी हत्या गरेका थिए ।

राप्रपाले पोखराको पृथ्वीचोकमा पनि पृथ्वीनारायणको शालिक पुनःस्थापनाको माग गरिरहेको छ । पोखरा–९, पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक पनि आन्दोलनका क्रममा तोडफोड गरिएको थियो । पछि त्यहाँ प्रथम सहिद लखन थापाको शालिक राखियो । राजा समर्थितहरुले पृथ्वीकै शालिक राखिनुपर्ने भन्दै लखनको शालिकको तल पृथ्वी नारायणको प्रतिमा लगेर राखे पनि पोखरा महानगरले त्यसलाई हटाइदियो । पृथ्वीनारायणको शालिक हटाएपछि केही समय आन्दोलन पनि भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७