भेंडेटारमा खाना महोत्सवमा एक करोडको कारोबार हुने अनुमान


१५ पुष २०८०, आईतवार
vedetar mahotsab

धनकुटा । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा धनकुटाको पर्यटकीय नगरी भेडेटारमा ११औं खाना महोत्सव आजदेखि सुरु भएको छ । होटल एशोसिएसन भेडेटारद्वारा आयोजित सो महोत्सव यही १७ गतेसम्म जारी रहने छ ।

कोशी प्रदेशको पर्यटन तथा वन वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले महोत्सवको शुभारम्भ गर्नुहँदै यस्ता महोत्सवले प्रर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । महोत्सवमा स्थानीय खाना, अग्र्यानिक खेतीबाट उत्पादित सागसब्जी, फलफूल, हस्तकला, कृषि तथा घरेलु सामग्रीको २५ कक्ष छन् । स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति महोत्सवमा रहने आयोजकले जनाएका छन् ।

महोत्सवमा रु एक करोड बराबरको कारोबार हुने अनुमान गरिएको महोत्सव आयोजक संस्थाका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । भेडेटारका होटलमा महोत्सव अवधिभर खाना तथा लजमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजक समितिका सचिव लालबहादुर श्रेष्ठ (रमेश) ले जानकारी दिए ।

हरेक वर्षझैँ महोत्सवमा भारतको विहारलगायत पूर्वी तराईबाट पर्यटक भेडेटार आइपुगेका छन् । उनीहरुले स्थानीय स्तरमा उत्पादित खानपान र परिकारका स्वाद लिन पाउने छन् । साथै पर्यटकहरुले साँगुरीगढी, पाथीभरा मन्दिर, नाम्जे गाउँ, नमस्ते झरना, ध्वजेडाँडा शूलीकोट, मोरङे राजाको दरबार, खिबेकलुङलगायत स्थान घुम्न र जिपलाइन, प्याराग्लाइडिङलगायत साहसिक खेलको आनन्द लिनसक्ने छन् । भेडेटारमा जाडोमा दैनिक दुई हजारसम्म र गर्मीमा सात हजारसम्म आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको होटल एशोसिएसन भेडेटारको तथ्याङ्क छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७