श्रीमतीको ब्वाइफ्रेण्डसँग दुई कठ्ठा जग्गा माग्दा नदिएपछि गोली हानी हत्या, दम्पतीसहित चार पक्राउ


१९ पुष २०८०, बिहीबार
Shivaraj Murder case

दाङ । दाङको कोइलाखानीस्थित सुरुङमा मृत भेटिएका शिवराज केसीको गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बुधबार प्रहरीले चार आरोपीलाई पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका–६ अघरा घर भएका ४५ वर्षीय शिवराज केसी शुक्रबार बंगलाचुलीस्थित कोइला खानीको सुरूङमा मृत भेटिएका थिए । बंगलाचुली गाउँपालिका–४ गदारी फाँटको जंगलमा रहेको कोइला खानीको सुरूङमा शव भेटिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

kc

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–४ गदारीका ४३ वर्षीय शेरबहादुर कुँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कुँवर, दीपाका भाइ २९ वर्षीय तिलक पुन र भरूवा बन्दुक उपलव्ध गराउने मेघराज कुँवर रहेका छन् । प्रारम्भिक अनुसन्धानबाट मृतक केसीको दीपासँग अनैतिक सम्बन्धका कारण हत्या भएको खुल्न आएको छ । पुस ८ गते शिवराज र दीपा बंगलाचुलीको गदारी भन्ने स्थानमा गएका थिए । तर बेलुका दीपा मात्रै घर फर्किइन् । शिवराज घर नफर्किएपछि उनका आफन्तले दीपासँग सोधपुछ गरेका थिए । दीपाले आफूलाई जानकारी नभएको जवाफ दिइन् ।

त्यसपछि १० गते शिवराजका दाइ डम्बर केसीले खोजतलासका लागि प्रहरीमा निवेदन दिए । दीपाले १३ गते छोराछोरी लिएर भारत जाने तयारी गरिन् । त्यसलगत्तै डम्बरले दीपाले नै केसीलाई लुकाएर राखेको भन्दै पुनः प्रहरीमा निवेदन दिए । प्रहरीले खोजतलास गर्दै जाँदा पुस १२ गते भुमेबरा सामुदायिक वनको रुकधने कोइला खानीमा शिवराजको शव फेला पर्‍यो ।

मृतक केसीका साला नाता पर्ने शिवराज वलीले किटानी जाहेरी दिएपछि दीपा, उनका श्रीमान शेरबहादुर र दीपाका भाइ तिलक पुन मगरलाई १५ गते दाङको अमिलिया जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । भरुवा बन्दुकको प्रयोग गरी केसीको हत्या भएको प्रहरीको भनाइ छ ।

प्रहरीले १५ गते स्थानीय मेघराज कुँवरको घरबाट एक नाल बन्दुक, बन्दुकमा प्रयोग हुने १०८ थान छर्रा, दुई थान गोली, लाम्चो आकारका ३९ थान गोली, बारुद ७५ ग्राम, केप ५ थान र हरियो कपडाको लत्ता (सूती) एक थान बरामद गरेको थियो। हातहतिरयारसहित मेघराजलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी ले पत्रकार सम्मेलन गरी शेरबहादुरकी श्रीमती दिपा र हत्या गरिएका शिवराज विगत वर्षदेखि प्रेम सम्बन्धमा रहेको र उनीहरूको प्रेमका बारेमा श्रीमान जानकार रहेको बतायो । ‘शेरबहादुरकी श्रीमती दिपा र हत्या गरिएका शिवराज विगत वर्षदेखि प्रेम सम्बन्धमा थिए’, पत्रकार सम्मेलनमा दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीले भने, ‘श्रीमती परपुरूषको प्रेममा भएको श्रीमान जानकार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

पछि शेरबहादुरले श्रीमती प्रयोग गरेर शिवराजसँग सम्पत्ति हडप्न खोजेको प्रहरीको भनाइ छ । एसपी केसीका अनुसार पुस ८ गते दिपाले प्रेमी शिवराजलाई श्रीमानको योजनामा फोन गरेर कोइलाखानी बोलाएकी थिइन् । प्रेमीका भेट्न कोइलाखानी पुगेका शिवराजलाई सुरूङभित्र लगेर बन्धक बनाइ दुई कठ्ठा जग्गा दिन दबाब दिइएको थियो । ‘श्रीमान श्रीमती दुवैले कि दुई कठ्ठा जग्गा दे । नत्र गोली हानेर मार्छौ भनेका रहेछन्’, एसपी केसीले भने, ‘शिवराजले जग्गा दिन अस्वीकार गरेपछि छातीमा गोली हानेर हत्या गरिएको रहेछ ।’ प्रहरीका अनुसार शिवराजको हत्यामा प्रयोग गरिएको भरूवा बन्दुक अवैध हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७