सामुदायिक वनमा काँचा सालका रुख कटान गरी तस्करी


२७ पुष २०८०, शुक्रबार
tree
सांकेतिक तस्वीर

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित गडबिजुला सामुदायिक वनमा काँचा सालका खडा रुख कटानी गरी तस्करी गरेको पाइएको छ । सामुदायिक वनमा तीन सालका रुख कटानी गरी तस्करी गरेको पाइएको हो । सामुदायिक वनका अध्यक्ष धनीराम चौधरीले वन गस्तीमा जाने क्रममा तस्करले मेसिनको प्रयोग गरी सालका रुख कटानी गरी लगेकोे पाइएको बताए । रुख कटानी भएका क्षेत्रमा ट्याक्टर हिँडेको टायरका छाप स्पष्टसँग देखिएको उनले बताए ।

दिउँसो मात्रै वनमा हेरालुको व्यवस्था रहेको जनाउँदै उनले राति वन गस्तीका लागि वन हेरालु राख्न नसक्दा रुख तस्करी हुन थालेको बताए । ‘पूर्व पश्चिम राजमार्गमा राखिएका सिसिटिभी क्यामेरामा गुलरीया तर्फबाट दुई ट्याक्टर वनतर्फ आएको देखिन्छ, तीन घण्टापछि ट्रलिमा काठ छोपेर लगेको देखिन्छ’, उनले भने, ‘त्यसकै आधारमा अनुसन्धानको कार्य अगाडि बढाइएको छ ।’

सालका रुख कटानी भएको देखिएपछि सबडिभिजन वन कार्यालय बाणीमा खबर गरिएको उनले बताए । उनले सामुदायिक वनका पदाधिकारी र उपभोक्ता काठ तस्करीमा कोही पनि संलग्न भएको नदेखिएको बताए । अहिले वन क्षेत्रमा नियमित राति र दिउँसो वनका पदाधिकारी, सबडिभिजन कार्यालयका वनरक्षक, उपभोक्तालगायतले संयुक्तरुपमा गस्ती गरिरहेको उनले जानकारी दिए ।

सबडिभिजन वन कार्यालयका प्रमुख अमर धामीले सामुदायिक वनमा रुख कटानी गरी तस्करी भएको पाइएपछि वनका पदाधिकारीलाई चिठ्ठी लेख्ने कार्य गरिएको बताए । ‘सामुदायिक वनमा काठ कटानी गरिएको जानकारी पाउना साथ डिभिजन वन कार्यालयका प्रमुखसहितले राति नै गस्ती गरेका छौँ’, उनले भने, ‘वन रक्षकलाई नियमित गस्तीका लागि खटाइएको छ ।’

अनुसन्धानमा काठ कटानी गरी तस्करी गर्ने शङ्कास्पद व्यक्ति नजिक पुग्ने बलियो आधार तय भएको उनले बताए । ‘जोसुकै भए पनि छाडदैनौँ’, उनले भने, ‘तस्कर छिट्टै पक्राउ पर्छन् ।’ सःमिलमा हेर्ने कार्य भइरहेको जनाउँदै उनले डिभिजन वन कार्यालय कैलालीसँगसमेत समन्वय गरी अनुसन्धानको कार्य अगाडि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७