न्यायाधीश गिरीविरुद्ध आरतीको मुद्दामा भोलि सर्वोच्चमा पेसी, थुनामा राख्ने–नराख्ने आदेश हुने


२ माघ २०८०, मंगलवार
aarati giri

काठमाडौं । न्यायाधीश भुवन गिरीविरुद्धको मुद्दामा भोलि (बुधबार) पेसी तोकिएको छ । भुवनविरुद्ध उनकी जेठी पत्नी आरती रावल गिरीले वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी छन् । उक्त मुद्दामा बुधबार पेसी तोकिएको हो ।

श्रीमानले आफूलाई ‘वैवाहिक बलात्कार’ गरेको आरोपसहित न्यायाधीश आरती लामो समयदेखि कानूनी संघर्षमा छिन् । यसअघिको उनको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । जिल्ला प्रहरी कपिललस्तुमा दिएको जाहेरीका आधारमा प्रहरीले न्यायाधीश गिरीलाई केही समयअघि काठमाडौंबाट पक्राउ गरेको थियो । तर, काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दियो । उक्त आदेशविरुद्ध आरतीले उच्च अदालत ललितपुरमा पुनरावेदन गरिन् । उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेपछि आरती सर्वोच्चमा पुगेकी हुन् ।

आरतीले न्यायाधीश गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेकी छन् । आरती र भुवनको औपचारिक सम्बन्धविच्छेद भएको छैन । न्यायाधीश गिरीले बाँके जिल्ला अदालतमा दायर गरेको सम्वन्धविच्छेदको मुद्दा अदालतमा विचाराधीन छ । सम्बन्ध विच्छेदकै प्रक्रियामा आफूलाई भुवन गिरीले बलात्कार गरेको भन्दै आरतीले मुद्दा दिएकी छन् ।

सर्वोच्चले यदि जिल्ला र उच्चको आदेश उल्टाइदिए गिरी फेरि थुनामा जानुपर्ने हुन सक्छ । होइन भने बाहिरै रहेर मुद्दा लड्न सक्ने छन् । आरतीले भने गिरीलाई थुनामा राख्ने आदेश नभएको खण्डमा आमरण अनशनमा जाने बताउँदै आएकी छन् । दुई दिनअघि मात्र आरतीले सर्वोच्च अदालत परिसरभित्र आत्मदाहको प्रयास गरेकी थिइन् । आज (मंगलबार) बिहान पनि सर्वोच्च पुगेकी उनलाई प्रहरीले गेटमै नियन्त्रणमा लिएको थियो । न्याय माग्दै नाराबाजी गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७