चन्द्रागिरि न्यूडायमण्ड’ पोखरामा चम्किँदा …


७ माघ २०८०, आईतवार
g

कास्की । पोखरामा शनिबार टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबलको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबसँग पराजित भएपछि चन्द्रागिरि न्यूडायमण्ड क्लबका प्रशिक्षक कुमार राईको प्रतिक्रिया थियो, ‘अर्को वर्ष दर्शकले चाहे जस्तो खेल प्रदर्शन गर्नेगरी उपाधि जित्ने गरी आउनेछौँ ।’

फाइनलमा कडा टक्कर दिए पनि न्यूडायमण्डले विभागीय टोली एपिएफलाई हराउन सकेन । एपिएफले उपाधिमा ह्याट्रिक गर्दा न्यूडायमण्ड भने उपविजेतामा सीमित हुन पुग्यो । न्यूडायमण्डको उपाधि चुम्ने सपना यस वर्ष पूरा नभए पनि प्रशिक्षक राई निरास भने छैनन् । खेलाडीको प्रदर्शन र त्यसमा पनि नयाँ खेलाडीको खेलले उनमा आत्मविश्वास ठूलो छ । सिनियर केही खेलाडीको चोट र नयाँ खेलाडीले आशा गरेअनुसार प्रदर्शन गर्न नसक्दा पराजय भोग्नुपरे पनि राईमा उपाधि जित्ने हुटहुटी भने झनै बढेको छ । क्लबमा झनै उत्साह थपेको छ ।

पछिल्लो समयदेखि न्यूडायमण्ड स्पोर्टस् क्लबको नामका अगाडि चन्द्रागिरि थपिएको छ । चन्द्रागिरि त्यही नगरपालिका हो, जहाँ न्यूडायमण्ड महिला भलिबल टिम रहेको छ । आफ्नै ठाउँमा रहेको भलिबल खेल विकासमा दुई दशकदेखि निरन्तर क्रियाशील क्लबलाई स्थानीय सरकारले अभिभावकत्व लिएपछि न्यूडायमण्डमा क्लबमा उत्साह छाएको हो । नगरपालिकाबाट राम्रो साथ पाएपछि यसबाट टिम व्यवस्थापकदेखि खेलाडी खेलमा अझै राम्रो गर्दै उपाधिको सपना देख्न थालेका छन् ।

‘हामी अर्को वर्ष अझै बढी तयारीसहित राम्रा खेलाडी लिएर उपाधि जित्नेगरी पोखरा आउनेछौँ । दर्शकले चाहेजस्तो खेल प्रस्तुत गर्नेछौँ, हामीलाई नगरपालिकाबाट समेत साथ मिलेको छ, हामी उत्साहित नै छौँ’, प्रशिक्षक राईले भने । टाइगरकपको फाइनलमा आफ्नो टोली पुगेको खबरपछि खेलाडीमा उत्साह भर्न चन्द्रागिरि नगरपालिकाको टोली शुक्रबार पोखरा आयो । पोखरा रङ्गशालामा चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खत्री, वडा १५ का वडाध्यक्ष घनश्याम लुईटेल सहित अन्य वडाध्यक्ष खेलाडीलाई उत्साहित बनाइरहे ।
स्था

नीय सरकारले राष्ट्रिय खेल भलिबल र त्यसमा पनि महिला भलिबलको विकासका लागि गरेको प्रयास प्रशंसनीय छ । यसले खेलकुदको विकासमा सहयोग पुगेको छ भने खेलाडीमा समेत आत्मविश्वास बढाएको प्रशिक्षक राईले बताए । चन्द्रागिरि नगरपालिकाले गत महिनादेखि न्यूडायमण्डलाई प्रायोजन सुरुआत गरेको हो । विगतमा पनि खेल सामग्री, मेडिकल उपकरण, प्रशिक्षणलगायतमा सहयोग गर्दै आएको थियो ।

तर यस वर्षदेखि न्यूडायमण्ड महिला भलिबल क्लबलाई नगरपालिकाले आफ्नो ‘अफिसियल क्लब’ बनाएको छ । जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरको प्रतियोगितामा ‘चन्द्रागिरि नगरपालिका न्यूडायमण्ड महिला भलिबल टिम’को नामसहित न्यूडायमण्डले सहभागिता जनाउने नगर प्रमुख गिरीले जानकारी दिए ।

‘न्यूडायमण्ड महिलाहरूको युनिक टोली हो । पहिला पनि सानो–सानो सहयोग गरेका थियौँ । तर अहिले अफिसियल टिमका रूपमा विकास गरौँ भनी छुट्टै बजेट व्यवस्थापन गरेका छौँ’, उनले भने, ‘यसबाट नगरपालिकाको पहिचान बढाएको छ, खेल जगतलाई पनि सहयोग पुगेको छ ।’ नगरपालिकाले प्रतियोगितामा खेलाडीका लागि आवश्यक खेलकुद सामग्री तथा प्रतियोगिताको व्यवस्थापन खर्च सबै व्यर्होनेछ । यसका लागि चालु आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरिएको छ । नगर प्रमुख गिरीले राष्ट्रिय तथा अन्तराष्ट्रियरूपमा स्थापित तथा महिला भलिबल खेलाडी उत्पादन गरेर राष्ट्रलाई योगदान गरेको क्लबसँग नगरपालिका जोडिन पाउँदा खुसी लागेको बताए । अन्य स्थानीय सरकारले पनि खेलकुद विकासका लागि सहयोग गर्नुपर्ने भनाइ गिरीको छ ।

चन्द्रागिरिले महिला भलिबलबाहेक फुटबल, ब्याडमिन्टन, बक्सिङलगायतका प्रतिस्पर्धात्मक खेलहरूको विकासका लागि मात्र बर्सेनि रु दुई करोडमाथि खर्च गर्दै आएको नगर प्रमुख गिरीले जानकारी दिए । ‘नगरपालिकाले खेलकुद विकासलाई उच्च प्राथमिकता दिएर काम गर्दै आएका छ’, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७