लहान नगरपालिकाद्वारा मोतियाबिन्दुको निःशुल्क उपचार


१८ माघ २०८०, बिहीबार
motiya

सिरहा । लहान नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ ।

यसका लागि लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता भएको छ । सम्झौतापत्रमा नगर प्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रविन्द्रलाल चौधरीले बुधबार हस्ताक्षर गरे । सम्झौताअनुसार नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा वडावडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ । शिविरमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने लक्ष्य राखिएको छ ।

गाउँघरमै आँखा जाँच शिविर सञ्चालनले यहाँका गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिल्ने नगर प्रमुख चौधरीको भनाइ छ । ‘गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, दलित र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन्’, उनले भने, ‘आँखा जाँच शिविरले गाउँका नागरिकलाई धेरै राहत मिल्नेछ ।’ नगरपालिकाले गत वर्ष पनि एक हजार जनाको शल्यक्रिया र सात हजारभन्दा बढीको आँखा जाँच शिविर सञ्चालन गरी निःशुल्क उपचार गराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७