आहा रारा पोखरा गोल्डकप उपाधिका लागि आज : आर्मी र थ्रिस्टार भिड्दै


२० माघ २०८०, शनिबार
aaha rara 1 1

पोखरा । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (शनिबार) विभागीय टोली त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लबबीच भिड्न्त हुँदैछ । खेल आज दिउँसो पोखरा रंगशालामा हुनेछ ।

आर्मी क्लब ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै फाइनलमा पुगेको हो भने थ्रीस्टारले ललितपुरकै छिमेकी क्लब जावलाखेल युथ क्लबलाई १–० ले पाखा लगाउँदै उपाधिको भिडन्त पक्का गरेको हो ।
थ्रिस्टार आहा राराको ५ पटकको विजेता हो भने पाँचौं पटक फाइनल पुगेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जित्न सकेको छैन । आर्मी पहिलो पटक उपाधि जित्ने ध्याउन्नमा हुँदा थ्रिस्टार उपाधि संख्या ६ पुर्‍याउने सुरमा छ ।

आहा रारा पोखरा गोल्डकपमा फाइनल पुग्ने तर उपाधि जित्न नसक्ने टोलीको रुपमा रहेको अभागी टिम त्रिभुवन आर्मी क्लबका लागि २३ औं संस्करण आफ्नो पक्षमा पारेर इतिहास रच्ने अवसर छ । आर्मीका प्रशिक्षक मेघराज केसीले आफूहरू फाइनल पुगेर सधैँ उपविजेता बन्ने ट्याग तोड्न भरमग्दुर प्रयास गर्ने बताएका छन् ।

आर्मी विस २०६५, २०६६, २०७१, २०७२, २०७५ गरी ५ पटक फाइनलमा पुगेको थियो । आहा रारा पोखरा गोल्डकपको उपाधि जित्ने टोली संख्या ६ रहेको छ । नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक ६–६ पटक उपाधि जित्दा थ्रि स्टारले ५ पटक, संकटाले २ तथा अफ्रिकन रुट्स, सहारा र एपीएफले १–१ पटक उपाधि आफ्नो बनाएका छन् । प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिता २३औं संस्करण हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७