खेलकुदले समुदायलाई जोड्दै


२० माघ २०८०, शनिबार
game

–मिला दरै
तनहुँ । दरै समाज तनहुँको आयोजनामा तनहुँको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेल मैदानमा यही माघ १५ गतेदेखि प्रथम ‘राष्ट्रिय दरै कप–२०८०’ सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगिताको आज फाइनल खेल हुँदैछ ।

प्रतियोगिता सुरु भएसँगै व्यास–१० दुम्सीका मानबहादुर दरै फुटबल हेर्नका लागि दैनिकरुपमा दमौली आउँछन् । उनले भने, ‘काम विशेषले मात्रै दमौली आउने गरिन्थ्यो । अहिले लगातार आइरहेको छु । खेलकुदले समुदायलाई एकत्रित बनाएको छ । समुदायका खेलाडी यति धेरै रहेछन् । हामीलाई भने थाहै थिएन् । यी खेलाडीलाई राष्ट्रियस्तरसम्म पु¥याउन सक्नुपर्छ ।’

खेलकुदले समुदायका खेलाडी र युवालाई चिनाउन एउटा पुलको रुपमा काम गरिरहेको मानबहादुरले बताए । उनले भने, ‘समयसमयमा खेलकुद तथा विभिन्न कार्यक्रम हुनुपर्ने रहेछ । यसले एक अर्कामा परिचित गराउँछ । खेलकुद मात्रै नभई अन्य रचनात्मक कार्यक्रम गर्न आवश्यक देखिएको छ ।’ समुदायबीच एकता कायम गर्न खेलकुदले महत्वपूर्ण भूमिका खेलेको मानबहादुरको भनाइ थियो । समुदायका सबै ठाउँका मानिस अहिले यहीँ आएको देखेर आफू पनि फुटबल हेर्न अरु काम छाडेर आइरहेको उनले बताए ।

व्यास–१ का विष्णुबहादुर दरै खेलकुद हेर्न दैनिकरुपमा खेल मैदान पुग्छन् । खेलकुदले समुदायका सबैलाई एक ठाउँमा बनाएको उनले बताए । उनले भने, ‘खेलकुद भएपछि त समुदाय नै एक ठाउँमा जम्मा भएका छौँ । अरु काम त पछि पनि गर्न सकिन्छ । यो एक भएर खेलेको समय फेरि आउँछ कि आउँदैन, त्यसैले दैनिक यहाँ आउने गरेको छु । आज जान्न भने पनि आवतजावत हुन्छ । अनि निस्किन्छु ।’

विष्णुबहादुरका अनुसार पहिलेदेखि नै फुटबल खेल्न दौडने युवा अहिले विदेशमा छन् । तिनलाई फर्काएर खेलसँगै यहीँ केही गर्न प्रोत्साहन गराउन आवश्यक देखिएको उनको भनाइ थियो । ‘आमाबुवाले खेलमा जिन्दगी फाल्यो भनेको देखेका थियौँ, यसले एक ठाउँ बनाएको देखेर खेलकुदमा छोराछोरी, युवालाई लाग्न सहयोग र अवसर दिनुपर्छ’, उनले भने ।

व्यास–५ चिन्टुटारका तुलबहादुर दरै उनीहरु जस्तै दैनिकरुपमा प्रतियोगिता हेर्न आउँछन् । उनले भने, ‘युवालाई हौसला दिन पनि यहाँ उपस्थित हुनुपर्छ भनेर दिनदिनै आउँछु । अब समाजले खेलकुदमा लागेका युवालाई राष्ट्रियस्तरका खेलकुदमा सहभागी बनाउने बाटो खोजी गर्नुपर्छ । यही विषयमा नेतृत्वसँग समन्वय गर्ने योजना बनाएको छु ।’ विशेष गरी खेलकुदसँगै अन्य सचेतनात्मक कार्यक्रम गरी समुदायलाई सशक्त बनाउनुपर्ने देखिएको तुलबहादुरले बताए ।

अल्पसंख्यक जाति दरै (दराई) लाई खेलकुदतर्फ प्रोत्साहन र अवसर सिर्जना गर्ने यो प्रतियोगिताले टेवा पु¥याएको समुदायका युवा तथा ज्येष्ठ नागरिकको बुझाइ छ । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित दरै समाज मङ्गलपुरका समूह प्रमुख राजेश दराईले भने, ‘केही खेलाडीबीच परिचित भए पनि समुदायसँग चिनाउन पुलको भूमिका दरै समाज तनहुँले खेलेको छ । यहाँ खेलमा रुचि भएका खेलाडी रहेछन् । यसका लागि समाजले राम्रा खेलाडीलाई राष्ट्रियस्तर वा माथिल्लो तहसम्म पु¥याउने भूमिका खेल्नुपर्छ । प्रत्येक इकाइबाट उत्कृष्ट खेलाडी पहिचान गर्नुपर्छ ।’

समुदायलाई सङ्गठित बनाउन विभिन्न खालका रचनात्मक कार्यक्रम गरिरहनुपर्ने राजेशको सुझाव छ । तनहुँले यस वर्ष खेलकुद राख्यो भने अर्को वर्ष अर्को जिल्लामा खेलकुद वा अन्य कार्यक्रमको आयोजना हुनुपर्नेमा उनको जोड थियो । राजेशले भने, ‘दरै समुदायको मुलुकमा नै प्रवद्र्धन भएको छैन । समाजले खेलकुदसँगै जातिको पहिचानका लागि प्रचारप्रसार गर्नेगरी हाम्रा संस्कार, संस्कृतिको पनि प्रवर्द्धन गर्नुपर्छ ।’

दरै समाज नौरङ्गेका समूह प्रमुख सोमबहादुर दराईले भने, ‘प्रतिस्पर्धा मात्रै नभई सहभागिता महत्वपूर्ण छ । खेलकुदमा आउँदा दमौली घुम्न र लामो समयदेखि भेटघाट नभएका आफन्तसँग भेट्ने अवसर जु¥यो । अरु खेलहरु पनि छन् जस्तो कि भलिबल, टेबलटेनिस, क्रिकेट खेलाडी पनि छन् । ती खेलको प्रवद्र्धन र विकासका लागि अन्य खेलका कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ ।’ खेलाडीलाई प्रोत्साहन गर्न समुदायमा सीमित नराखी एन्फाबाट सञ्चालन हुने सी डिभिजन, बि डिभिजन, ए डिभिजन लिगलगायत खेलमा यहाँका खेलाडीलाई अवसर दिनुपर्ने सोमबहादुरको भनाइ थियो । उत्कृष्ट खेलाडी छनोट गरी त्यस्ता प्रतिस्पर्धामा पुर्‍याउन समाजले भूमिका खेल्नुपर्ने उनले बताए ।

सोमबहादुरले भने, ‘हामी पिछडिएका जातिमा पर्छौं । शिक्षाका क्षेत्रमा पनि पछि परेका छौँ । शिक्षा, खेलकुदलगायत क्षेत्रमा सचेत गराउने गरी सचेतनात्मक कार्यक्रम गर्नुपर्छ ।’ यसतर्फ केन्द्रीय तथा जिल्ला र इकाइले योजना बनाएर अगाडि बढ्नुपर्ने उनले बताए । शैक्षिक सचेतना नै समुदायमा बढी आवश्यक रहेको सोमबहादुरको भनाइ थियो ।

धादिङका खेलाडी अमन दरैले जितभन्दा पनि समुदायमा सहभागिता जनाउनु महत्वपूर्ण भएको बताए । उनले भने, ‘यस खेलकुदमा सहभागिताले पहिचान जोडिएको छ । यसले हामीलाई गौरवान्वित बनाएको छ ।’ दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादुर दरैले खेलकुदका माध्यमबाट पिछडिएको दरै समुदायका खेलाडीलाई प्रोत्साहन गर्ने, मुलुकका विभिन्न जिल्लामा छरिएर रहेका दरै समुदायलाई एकता, सद्भाव र पारस्परिक मित्रभाव जगाउन भूमिका खेलेको बताए । उनले भने, ‘प्रतियोगिताले समुदाय तथा दरै जातिको पहिचानको प्रवर्द्धनमा टेवा पुग्नेछ ।’

अध्यक्ष ठाकुरबहादुरका अनुसार दुव्र्यसनी लागुऔषध फस्नसक्ने युवालाई खेलकुदतर्फ आकर्षित गर्न यो प्रतियोगिताले सहयोग पुगेको छ । यस प्रतियोगितामार्फत राष्ट्रिय तथा अन्तर–राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ गरिएकाले माथिल्लो तहसम्म खेल्ने अवसर कायम गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

संविधानसभा सदस्य एवं प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव सन्तकुमार दराईले खेलकुद मात्र नभई हरेक क्षेत्रमा दरै समुदायका युवालाई सक्रिय बनाउने खालका कार्यक्रम गर्न योजना बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘पिछडिएका जाति भनेर पछि हट्नेभन्दा पनि हरेक क्षेत्रमा समुदायलाई सक्रिय बनाउने गरी समाजले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । विशेषगरी समुदायलाई शैक्षिक क्षेत्रमा सक्रिय बनाउनुपर्छ ।’ समाजले सचेतनात्मक कार्यक्रम गर्ने योजना बनाए सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले योजना बनाउन आग्रह गरे ।

नेपाल दरै उत्थान समाजका केन्द्रीय अध्यक्ष मङ्गलराम दराईले समुदायको पहिचानका लागि विभिन्न स्थानमा फैलिएर रहेका समुदायलाई एक हुने कार्यक्रमको ढाँचा बनाउने योजना तय भएको बताए । व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले विभिन्न जिल्लामा छरिएर रहेका दरै समुदायलाई खेलकुदले एक बनाएको बताइन् । उनले भनिन्, ‘छरिएका यस समुदायलाई शैक्षिक सचेतना, स्वदेशमै रहने वातावरण बनाउने योजना र काम गर्ने वातावरण तयार पार्न नेतृत्वले भूमिका खेल्नुपर्छ । हाम्रो साथ र सहयोग रहनेछ ।’

आज सेमिफाइनल र फाइनल खेल हुँदैछन् । सेमिफाइनलको पहिलो खेलमा तनहुँको व्यास–१० स्थित दरै समाज दुम्सी इकाइ ‘ए’ र चितवनको दरै समाज मङ्गलपुर इकाइबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा तनहुँको व्यास–४ दरै समाज साँखर इकाइ र आयोजक दरै समाज तनहुँबीच प्रतिस्पर्धा हुने सचिव विजय दरैले जानकारी दिए । उनका अनुसार आजै फाइनल खेल हुनेछ । प्रथम पुरस्कार रु एक लाख एक हजार एक सय ११ र द्वितीय पुरस्कार रु ५१ हजार एक सय ११ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट खेलाडीलाई रु दुई हजार, उत्कृष्ट गोलरक्षकलाई रु एक हजार पाँच सय र सर्वाधिक गोलकर्तालाई रु एक हजार पाँच सय नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७