आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा हो : अर्थमन्त्री महत


२२ माघ २०८०, सोमबार
prakash shran scaled
फाइल फोटो

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा भएको बताएका छन् । आज नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले रोजगार सिर्जना, आर्थिक उपार्जनलगायत क्षेत्रका लागि शिक्षा नै पहिलो आधार रहेको बताए ।

‘विकासका लागि पूर्वाधार निर्माण आवश्यक पर्दछ । यसले दैनिक जीवनयापनमा सहजता ल्याउने भए पनि त्योभन्दा ठूलो शिक्षाको विकास सबैभन्दा शक्तिशाली माध्यम हो’, अर्थमन्त्री महतले भने, ‘आम्दानीको स्रोत बढाउन, बचत गर्न र भविष्य कसरी उज्वल बनाउन सकिन्छ भन्ने मुख्य बाटो नै शिक्षाले देखाउँछ ।’

व्यवस्थित सडक, खानेपानी, सिँचाइ कुलो, स्वास्थ्य सेवा सबै विकासको सूचक भएकाले त्यसलाई शिक्षाका माध्यमबाट दक्ष बनाई उपयोगी र रोजगारमुखी बनाउन सरकारले शिक्षाको गुणस्तरमा जोड दिएकाले सोहीअनुसार लाग्न उहाँले अभिभावक र विद्यालय प्रशासनलाई आग्रह गरे ।

‘भागबण्डा गर्न नपर्ने र अरुले चोरी गर्न नसक्ने हुदाँ सीप र शिक्षा सबैभन्दा ठूलो सम्पत्ति हो’, अर्थमन्त्री महतले भने, ‘पढाइमा गरेको लगानी खेर जादैन । प्रतिफल मिल्छ । समयअनुसार प्रविधिमैत्री र प्राविधिक शिक्षामा केन्द्रित हुनुपर्छ ।’ उमेरअनुसार शिक्षा लिन नपाएकालाई राज्यले रोजगारको सिर्जनाका लागि तालिम दिएर दक्ष जनशक्ति बनाउन लागिएको उनले बताए । होटल र होमस्टेका विभिन्न विधाका सीप सिकाउनेदेखि विद्युतीय सामग्री ममर्तलगायत मागमा आधारित तालिमबाट रोजगारको सिर्जना गर्न शिक्षा र सीपमा सरकारले नयाँ योजना बनाएर आवश्यकताअनुसार बजेट उपलब्ध गराउने उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७