भिजिट भिसा सेटिङ : एउटै एजेन्सीबाट अध्यागमन अधिकृत खड्काको ‘खल्ती’ मा एक करोड


२६ माघ २०८०, शुक्रबार
Narbir

काठमाडौं । नक्कली कागजातका आधारमा भिजिङ भिसा सेटिङबाट विभिन्न देशमा मान्छे पठाउनेहरुले कतिसम्म कमाइ गर्थे भन्ने कुरा खुलासा हुँदै गएका छन् । यसरी रातारात करोडौं कमाइ गर्नेमध्येका एक उदाहरण हुन् अहिले पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्का ।

नक्कली कागजात र भिजिट भिसामा सेटिङबाट विभिन्न देशमा मान्छे पठाउने काममा प्रत्यक्ष संलग्न खड्काले एउटकै ट्राल्स एजेन्सीबाट एक करोडसम्म खल्तीमा हाल्ने गरेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत खड्काले एउटै ट्राभल्सबाट एक करोड रुपैयाँ बुझेको भन्दै ट्राभल्सका कर्मचारीले बयान नै दिएका छन् । पक्राउ परेका हाल थुनामा रहेका खड्काले सिनामंगलमा रहेको निमा छिरिङ ट्राभल्सबाट मात्रै भिजिट भिसा सेटिङका लागि एक करोड रुपैयाँ बुझेको भन्दै उक्त ट्राभल्सका कर्मचारीले कागज गरिदिएका छन् ।

काभ्रेको पाँचखाल–३ का मनोज लामाले सञ्चालन गरेको निमा छिरिङ ट्राभल्समा उनकै साला नाता पर्ने पदम लामाले काम गर्थे । ट्राभल्सका कर्मचारी पदमले अध्यागमन अधिकृत नरवीर खड्काले मात्रै एक करोड बुझेको बताएका छन् । ‘अध्यागमन अधिकृत खड्काको सेटिङमार्फत तीन सय जना विदेश गएका छन् । त्यसबापत उनलाई सेटिङका लागि एक करोड बुझाइसकेका छौँ,’ पदमले बयानमा भनेका थिए ।

नरबीरले पुरुष र महिलाको छुट्टाछुट्टै दररेट तोकेर रकम बुझ्ने गरेको पाइएको छ । ‘भिजिट भिसामा जाने व्यक्तिहरुको एयरपोर्टमा सेटिङ गरी मेरो भिनाजु मनोजले भनेअनुसार रकम दिने गरेको हो । अध्यागमन अधिकृत खड्कालाई पुरुषका लागि प्रतिव्यक्ति १७ हजार र महिलाका लागि प्रतिव्यक्ति ५० हजारका दरले रकम दिने गरिएको थियो,’ उनले भनेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खड्कालाई मंसिर २६ गते दुई लाख रुपैयाँ घुस लिँदै गर्दा होटलबाटै पक्राउ गरेको थियो । उक्त रकम पनि निमा ट्राभल्सले नै दिएको थियो । ‘मंसिर २६ गते दिउँसो होटल वाल्टिनको काउन्टरमा एक महिला स्टाफलाई नरबीर खड्कालाई दुई लाख दिनु भनि छाडेको थिए, सोही घुस रकम बुझ्दै गर्दा खड्का पक्राउ परेका हुन’ पदमले सुनाए ।

खड्का ट्राभल्समा आफै गएर रकम समेत उठाउने गरेको पाइएको छ । मंसिर ४ गते मात्रै उनले निमा ट्राभल्समा गएर त्यसका सञ्चालक मनोजसँग तीन लाख ५० हजार रुपैयाँ बुझेको समेत अनुसन्धानमा देखिएको छ । ‘खड्का सर कहिले हाम्रो अफिसमा आएर र कहिले होटलमा रकम बुझ्ने गुर्नुहुन्थ्यो’, पदमले बयानमा खुलाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७