सरकारबाट भुक्तानी नपाएपछि आक्रोशित किसानले सडकमै पोखे दूध

मागे कृषिमन्त्रीको राजीनामा


६ फाल्गुन २०८०, आईतवार
milk

चितवन । दूध बेच्न समस्या भएको र बिक्री भएको दूधको पनि लामो समयदेखि पैसा नपाएको विरोधमा आज (आइतबार) चितवनका दुग्ध उत्पादक किसानहरूले सडकमा दूध पोखेर विरोध जनाएका छन् ।

यसअघि उनीहरूले चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापनपत्र बुझाउँदै किसानको समस्या तत्काल समाधान गर्न माग गरे । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको भरतपुरमा रहेको कार्यालयमा भेला भएका किसानहरू नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले समस्या समाधानमा कृषिमन्त्री उदासिन रहेको भन्दै राजीनामा मागे ।

प्रमुख जिल्ला अधिकारी थापालाई ज्ञापनपत्र बुझाए लगत्तै भरतपुरको केन्द्रीय बसपार्क चोक पुगेका किसानहरूले केहीबेर चक्का जाम गरे । समस्या सुल्झाउन सरकार संवेदनशील नभएको देखेका कारण ध्यानाकर्षण होस् भनेर बाध्य भएर दुई क्यान अर्थात ८० लिटर दूध सडकमा पोखेर विरोध जनाएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिका अध्यक्ष किशोर बगालेले बताए ।

अध्यक्ष बगालेका अनुसार चितवनका दूध किसानले समउनयता दुधको भुक्तानी पाउन सकेका छैनन् । विभिन्न डेरी उद्योगहरूले दूध लगे वापत चितवनका किसानलाई ५२ करोड रूपैयाँ भुक्तानी नगरेको बगालेले बताए । चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ । दुई चार दिनयता डेरी उद्योगले दूध लैजान आनाकानी गर्दा मिल्क होलि डे (दूध बिक्री नहुने) जस्तै भएको अध्यक्ष बगालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७