म्याकुरीले भने–डिभोर्स गर्छु, अर्को विवाह गर्दिनँ


११ फाल्गुन २०८०, शुक्रबार
sumnima

काठमाडौं । हाँस्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र उनकी पत्नी सुम्निमा खालिङको विवाद यतिखेर सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरुमा छताछुल्ल भएको छ । कलाकार खतिवडाले आफू श्रीमतीबाट पीडित भएको भन्दै विग्रिएको सम्बन्धनका विषयमा प्रष्ट्याएका छन् । पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा अन्तर्वाता दिंदै खतिवडाले आफू श्रीमती सुम्निमा खालिङबाट पीडित भएको बताएका छन् ।

उनले घरेलु हिंसाको आरोपको खण्डन पनि गरेका छन् । अर्को युवतीलाई गर्भवती बनाएको भनेर सुम्निमाले लगाएको आरोपमा कुनै सत्यता नभएको उनले दाबी गरेका छन् । शुक्रकिटमा समस्या देखिएकाले हाल आफू बाउ बन्न योग्न नरहेको उनले खुलाए । ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौं । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो । मैले औषधि पनि सेवन गरेको थिएँ,’ उनले भनेका छन् ।

सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा भने पवनले स्वीकारे । सुम्निमाले सुन किन्न पैसा मागेर नक्कली गहना किन्ने, मदिरा खाएर झगडा गर्ने, आफूलाई आक्रमण गर्ने, मामा साइनो लगाएर अन्य पुरुषसँग निकट भएको थाहा पाएपछि आफूले डिभोर्स मागेको खतिवडाको दाबी छ ।

सुम्निमाले आफू कुलतमा नफसी पवनले सुधार केन्द्रमा राखेको आरोप लगाएकी थिइन् । उनले यो आरोप पनि सत्य नभएको दाबी गरेका छन् । मदिरामा खाएर घर–टोलमा ‘बबाल’ गर्न लागेपछि सुधार केन्द्रमा लगेको उनले बताए । दुईबीच अनावश्यक कलह बढेपछि छुटिने मनस्थितिमा पुगेको र कानुनी प्रक्रियामा रहँदै उनी मिडियामा आएको पवनको दाबी छ ।

कलाकार खतिवडाले डिभोर्स गर्ने र त्यसपछि बिहे नै नगर्ने पनि बताएका छन् । पत्रकार ऋषि धमलाले डिभोर्स गरिसकेपछि अब तपाईं विवाह गर्नु हुन्न ?’ भनेर सोध्दा, पवनले ‘गर्दिनँ’ भनेका छन् । ‘विवाह गर्नु नै गलत थियो ?’ भन्ने प्रश्नको जवाफमा उनले ‘थियो’ भनेका छन् भने ‘प्रेम गर्नु नै गलत थियो ?’ भन्दा पवनको जवाफ ‘हो’ थियो । ऋषि धमलासँगको उक्त अन्तर्वार्ता सामाजिक सञ्जालमा सेयर गर्दै पवनले यस विषयमा आफ्नो यही नै अन्तिम अन्तर्वार्ता भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७