बिसीसीआईले श्रेयस अय्यर र इशान किशनलाई सेन्ट्रल कन्ट्रयाक्टबाट किन हटायो ?


१८ फाल्गुन २०८०, शुक्रबार
f466b95a 546b 4c3b a279 ad0513bf90dc.jpeg

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले आफ्नो सेन्ट्रल कन्ट्रयाक्ट सूचीबाट श्रेयस अय्यर र इशान किशनलाई हटाएको छ । दुवै क्रिकेटर इन्डियन प्रिमियर लिग अर्थात आईपीएलमा आफ्नो फ्रेन्चाइजको हिस्सा हुनेछन् । दुवै आ–आफ्नो टोलीका स्टार ब्याट्सम्यान हुन् ।

आईपीएल सम्झौतामा हुनु उनीहरुका लागि निकै फाइदाजनक छ तर बीसीसीआईको सम्झौताबाट बाहिर हुनु यी खेलाडीहरुको आर्थिक र क्रिकेट करियरको लागि ठूलो धक्का भएको विश्लेषण भइरहेको छ । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान इशान किशनको नाममा छ भने श्रेयस अय्यरले २०२३ मा सम्पन्न आइसीसी क्रिकेट विश्वकपमा भारतका तेस्रो सर्वाधिक रन बनेका थिए ।

श्रेयस अय्यरले १४ टेस्ट खेल खेलेर ८११ रन बनाएका छन् । श्रेयसले ५९ एकदिवसीय खेल खेलेर २३८३ रन बनाएका छन् । एकदिवसीयमा श्रेयसको अधिकतम स्कोर १२८ हो । उनी ४९ को औसतमा खेल्छन् । दुवै खेलाडीमाथि बीसीसीआईको निर्देशन बेवास्ता गरेको आरोप लागेको छ । केही साताअघि मात्र बीसीसीआई सचिव जय शाहले एक पत्र लेख्दै सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीहरूले रातो बल क्रिकेट (रणजी र टेस्ट क्रिकेट) भन्दा आईपीएललाई प्राथमिकता दिन नसक्ने चेतावनी दिएका थिए ।

बिसीसीआईको सेन्ट्रल कन्ट्रयाक्टमा परेका क्रिकेटरले मात्रै बीसीसीआईको सुविधा लिन पाउने छन् । यसमा राष्ट्रिय क्रिकेट एकेडेमीका सुविधाहरू पनि समावेश छन् । कुनै पनि खेलाडी घाइते भएमा राष्ट्रिय क्रिकेट एकेडेमी निकै महत्वपूर्ण हुन्छ । सेन्ट्रल कन्ट्रयाक्टमा परेका क्रिकेटरहरुको बीमा हुन्छ । बीमा हुने हुनाले चोट लागेपछि हुने सबै खर्च बोर्डले गर्ने गर्दछ ।

इशान किशन केही समयदेखि लगातार टीम इन्डियामा रहेका छन् तर एक वा एकभन्दा बढी नियमित खेलाडी उपलब्ध नहुँदा मात्रै उनले खेल खेल्ने मौका पाउने गरेका थिए । यो कठिनाई र अनिश्चितताका कारण इशान किशन मानसिक थकानबाट ग्रसित रहेपछि उनले खेलबाट ब्रेक लिएका थिए ।

इशानले बंगलादेशविरुद्धको एकदिवसीय खेलमा दोहोरो शतक बनाएपछि पनि टिममा स्थान नपाएको विषय भारतीय क्रिकेटमा सधै चर्चा हुने गर्दछ । मिडिया रिपोर्टका अनुसार दक्षिण अफ्रिकासँगको टेस्ट सिरिजबाट ब्रेक लिएपछि इशान किशन दुबईमा पार्टी गरिरहेको देखिएका थिए । यसलाई अनुशासनहीनताको रुपमा हेरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७