तीन जनाको ज्यान गएको बाराको विष्फोट घटना : धनुषाबाट थप दुई जना पक्राउ


२२ फाल्गुन २०८०, मंगलवार
bara bisfot scaled

बारा । बाराको निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना) मा एक साता अगाडि भएको विष्फोट घटनामा दोषी देखिएको आंशकामा प्रहरीले धनुषाबाट दुई जना पक्राउ गरेको छ । प्रहरीले धनुषा गणेशमान चारनाथ नगरपालिका–२ स्थित न्यु शिव स्क्र्यापका सञ्चालक सर्लाही चक्रघट्टा गाउँपालिका–१ निवासी वर्षीय ४१ शिवशंकर साह र कवाडी सङ्कलन सर्लाही ईश्वरपुर नगरपालिका– ७ निवासि ४६ वर्षीय बिल्टु महत्वलाई प्रहरीले पक्राउ गरेको हो ।

योसँगै पक्राउ पर्नेको सख्या पाँच पुगेको छ । प्रहरीले यसअगि निजगढ–९ मा कवाडी सञ्चालन गरी बसेका भारत मोतिहारी घर भएका भारतीय नागरिक राज भनिने रमेश जैसवाल, कवाडीको सामान बोक्ने ना ५ ख ९७२७ ट्रक चालक निजगढ नगरपालिका–९ स्याक्तान टोलका ४२ वर्षीय बासु तामाङ्ग र सोही ठाउँका सहचालक २५ वर्षिय टीकाराम पाख्रिन पक्राउ परेका थिए ।

उनीहरुलाई जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ । ग्यारेजमा भएको विष्फोटमा परी तीनको मृत्यु भएको थियो भने तीन जना घाइते छन । निजगढ नगरपालिका– ९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’ जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विष्फोट भएको प्रहरीको भनाइ छ । जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए । लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विष्फोट भएको हो ।

यसैबीच, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अनुरोधमा वीरगञ्जस्थित बयोधा अस्पतालले उपचारमा भएको खर्च रकममा छुट्ट दिएको छ । उपचारको क्रममा भएको खर्च रकम आफन्तले बुझाउन नसकेपछि अस्पताल प्रशासनले उनीहरुलाई छुट्ट दिएको बयोधा अस्पतालका प्रशासक बिष्णु पटेलले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७