मन्त्रालय भागबण्डाका लागि सत्ता गठबन्धनको बैठक बस्दै


२३ फाल्गुन २०८०, बुधबार
Gathabandhan news with amale 2
फाइल फोटो

काठमाडौं । मन्त्रालय भागबण्डा मिलाउन आज (बुधबार) सत्ता गठबन्धनको बैठक बस्दैछ । बिहान ११ बजेपछि सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले बैठक बस्ने तय भए पनि समय यकिन नभएको बताएका छन् ।

उनका अनुसार जसपाको केन्द्रीय कार्यकारिणी कमिटीको बैठक पनि बुधबार बिहान ८ बजे बस्दैछ । बैठकले सत्ता सहकार्यको विषयमा छलफल गर्ने नेता श्रेष्ठले जानकारी दिए । ‘मन्त्रालयको भागबण्डा टुंगो नलागेकाले सरकारमा को पठाउने भनेर छलफल हुँदैन । पहिलो कसले कति पाउने, गठबन्धनमा कोको आउने टुंगो लाग्नुपर्‍यो,’ उनले भने । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै एकीकृत समाजवादीसँग पनि छलफल गर्दैछन् ।

एकीकृत समाजवादीले पनि आज बिहान ११ बजे सचिवालयको बैठक बोलाएको छ । बैठकले गठबन्धनमा सहभागी हुने, नहुनेबारे निर्णय लिनेछ । नयाँ सत्ता गठबन्धनको सत्ता सहकार्यको प्रस्तावबारे छलफल गर्न बुधबार बिहान ११ बजे सचिवालय बैठक बोलाइएको पार्टी महासचिव घनश्याम भूसालले जानकारी दिए ।

प्रतिनिधि सभामा १० सिट रहेको एकीकृत समाजवादीलाई नयाँ गठबन्धनले मिलेर जान प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार साँझ माधवकुमार नेपाललाई निवासमै भेटेर औपचारिक प्रस्ताव गरेका थिए। अध्यक्ष नेपाल निवास कोटेश्वरमा भएको छलफल सकारात्मक भएको एकीकृत समाजवादीका महासचिव भूसालले बताए ।

नेपाल निवास कोटेश्वरमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल र महासचिव भूसाल थिए । प्रधानमन्त्रीले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादीका उम्मेदवार चम्पादेवी कार्की पराजित भएदेखि नेपाली कांग्रेसको महासमिति बैठकले पैदा गरेको संशयसम्मका घटनाक्रमको पृष्ठभूमि बाँधेको बैठकमा सहभागी अर्का नेताले बताए ।

‘यी सबै घटनाक्रमले संशय पैदा गरेपछि हामी छलफलमा थियौं । बाहिर कुरा चुहिन्छ कि भनेर डर थियो र तपाईंसँग छलफल हुन पाएन । अब सहकार्य गरेर जाऔं । हिजो गल्ती, कमी कमजोरीबारे बसेर समीक्षा गर्दै जाँऔंला । अहिले चाहिँ मिलेर अघि बढौं,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी अर्का नेताले बताए । बैठकमा एमाले अध्यक्ष ओली लचिलो रूपमा प्रस्तुत भएको र विगतका कमजोरीप्रति समीक्षा गर्न तयार रहेको आफूहरूले बुझेको ती नेताले बताए ।

उनका अनुसार मंगलबारको भेटपछि अध्यक्ष नेपाल पनि निकै सकारात्मक छन् । आज बिहान ११ बजे बस्ने सचिवालय बैठकले गठबन्धनमा सहभागी हुने निर्णय गर्ने सम्भावना बढेको ती नेताले बताए । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच सोमबार पनि कुराकानी भएको थियो । बिरामी भएर स्वास्थ्य लाभ गरिरहेका अध्यक्ष नेपालसँग उनकै निवासमा कुराकानी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७